Logo

२ साउन,काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा उपमहानगरपालिका–१७ का केशव राईका अन्दाजी १४ वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए।

खोजी गर्ने क्रममा युकेशलाई डुबेकै स्थानबाट उद्धार गरिएको थियो। उनलाई दिउँसो करिब २ बजे उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

मृतक बालकको शव हेटौंडा अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी चौघडाबाट टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा तथा सशस्त्र प्रहरीको समन्वयमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।

यसैबीच प्रहरीले वर्षायाममा खोलानाला, पानी जमेको खाल्डो तथा डुबानको जोखिम भएका स्थानमा पौडी नखेल्न र बालबालिकालाई त्यस्ता क्षेत्रमा जान नदिन आग्रह गरेको छ। साथै बाढी आएको समयमा खोला, खोल्सी तथा जलमग्न सडक जबर्जस्ती पार नगर्न पनि प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।


सम्बन्धित समाचार