६ साउन,काठमाडौं । अमेरिकाको जेलमा सजाय काटिरहेका मेक्सिकन नागरिक ब्राण्डन ओर्टिज–वाइटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन्। उनले ट्रम्पसँग ७ करोड ५० लाख अमेरिकी डलर (करिब १० अर्ब नेपाली रुपैयाँ) क्षतिपूर्ति, सार्वजनिक माफी तथा अमेरिकी नागरिकता प्रदान गर्न माग गरेका छन्।
२७ वर्षीय ओर्टिज–वाइट सन् २०२४ मा मिशिगनकी रुबी गार्सीयाको हत्या अभियोगमा दोषी ठहर भएका थिए। हाल उनी ३९ देखि १०२ वर्षसम्मको कैद सजाय भोगिरहेका छन्।
अदालतमा पेस गरिएको हस्तलिखित उजुरीमा उनले राष्ट्रपति ट्रम्प र ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभन चेउङलाई प्रतिवादी बनाएका छन्। ट्रम्पले सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानका क्रममा आफ्नो मुद्दालाई राजनीतिक फाइदाका लागि प्रयोग गर्दै आफूलाई राष्ट्रिय स्तरमा नकारात्मक रूपमा चित्रण गरेको उनको आरोप छ।
ओर्टिज–वाइटका अनुसार मिशिगनको ग्र्यान्ड र्यापिड्समा आयोजित चुनावी सभामा ट्रम्पले उनलाई “अमेरिकाको मुख्य समस्या” भनेर उल्लेख गरेका थिए। त्यसपछि ट्रम्पको चुनावी विज्ञापनमा उनको प्रहरी तस्बिर प्रयोग गरिएको र अवैध आप्रवासीहरूलाई “हत्यारा, बलात्कारी र लागूऔषध तस्कर” का रूपमा प्रस्तुत गरिएको दाबी गरिएको छ।
ओर्टिज–वाइट यसअघि अमेरिकाबाट देश निकाला गरिएका व्यक्ति हुन्। त्यसपछि उनी पुनः गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए।
राष्ट्रपति ट्रम्प वा उनको कानुनी टोलीले भने ओर्टिज–वाइटको उजुरीबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।




















