Logo

६ साउन,वीरगञ्ज । पर्साको ऐतिहासिक तथा राष्ट्रिय महत्व बोकेको वीरगञ्ज चिनी मिल तत्काल पुनः सञ्चालन गर्न माग गर्दै नागरिकस्तरबाट सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएको छ। ‘वीरगञ्ज चिनी मिल पुनः सञ्चालन नागरिक अभियान’का संयोजक अफजल हुसैनले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै निर्धारित समयभित्र ठोस पहल नभए शान्तिपूर्ण आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

ज्ञापनपत्रमा वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी मिलका कारण स्थानीय किसान, मजदुर, व्यवसायी तथा समग्र क्षेत्रीय अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गरिएको छ। मिल बन्द भएपछि हजारौं परिवारले रोजगारी गुमाएको तथा कृषि र औद्योगिक गतिविधिसमेत प्रभावित भएको अभियानको दाबी छ।

अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण पटक–पटक गराउँदा पनि हालसम्म कुनै ठोस निर्णय वा कार्यान्वयन नभएको उल्लेख गर्दै सरकारले तत्काल मिल पुनः सञ्चालनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ।

ज्ञापनपत्रमार्फत पाँच बुँदे मागसमेत अघि सारिएको छ। अभियानले चिनी मिल पुनः सञ्चालनसम्बन्धी स्पष्ट निर्णय र कार्ययोजना सार्वजनिक गर्न, आवश्यक बजेट, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउन, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी निश्चित समयसीमासहित कार्यान्वयन प्रक्रिया सुरु गर्न, मिलको वर्तमान अवस्था र सञ्चालनको सम्भाव्यताबारे आधिकारिक विवरण सार्वजनिक गर्न तथा किसान, मजदुर र अन्य सरोकारवालासँग समन्वय गरी दीर्घकालीन समाधान लागू गर्न सरकारसँग आग्रह गरेको छ।

अभियानले आफ्नो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक हुने जनाएको छ। ज्ञापनपत्र बुझाएको ७२ घण्टाभित्र सम्बन्धित निकायबाट ठोस पहल, लिखित प्रतिबद्धता वा कार्यान्वयन प्रक्रिया सुरु नभए ‘वीरगञ्ज चिनी मिल पुनः सञ्चालन नागरिक अभियान’को तर्फबाट शान्तिपूर्ण आमरण अनशन सुरु गरिने चेतावनी दिइएको छ।

अभियानका अनुसार यो आन्दोलन कुनै व्यक्ति, संस्था वा राजनीतिक दलविरुद्ध नभई वीरगञ्ज चिनी मिलको पुनः सञ्चालन, स्थानीय उद्योगको पुनर्जीवन, किसानको हित संरक्षण, रोजगारी सिर्जना तथा जनहितका लागि गरिएको नागरिक पहल हो।


सम्बन्धित समाचार