Logo

६ साउन, काठमाडौं । मधेस प्रदेशको राजनीतिक वृत्तमा सुदृढ एकता र सांगठनिक पकड विस्तार गर्ने उद्देश्यसहित आज जनकपुरधाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण तथा एकता सभा आयोजना हुँदैछ ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा केहीबेरमा सुरु हुने यस भव्य कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र शीर्ष नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू मंगलबार नै जनकपुर पुगिसकेका छन् ।

गत कात्तिकमै केन्द्र तहमा तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वाम घटकहरूबीच पार्टी एकता भए पनि मधेस प्रदेशमा भने औपचारिक एकता अझै बाँकी रहेको थियो, जसलाई आजको सभाले पूर्णता दिँदै विभिन्न घटकका नेता-कार्यकर्ताहरूको एकता समायोजन तथा शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रदेशस्तरीय कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व र जनवर्गीय संगठनका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहने यो प्रशिक्षण तथा एकता कार्यक्रम सम्पन्न गरेर नेता प्रचण्ड आजै साँझ काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

यसअघि मंगलबार साँझ जनकपुर पुगेका शीर्ष नेताहरूले महोत्तरीको रामगोपालपुर पुगेर गत असार २९ गते ९२ वर्षको उमेरमा निधन भएका संविधानसभा सदस्य लालेन्द्र मण्डलका पिता स्व. बिन्देश्वर मण्डलप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए ।


सम्बन्धित समाचार