Logo

७ साउन,वीरगञ्ज । दुर्घटना वा आकस्मिक स्वास्थ्य समस्या परेको अवस्थामा प्राथमिक उपचारको सही ज्ञानले जीवन रक्षा गर्न सक्ने सन्देशसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा प्राथमिक उपचार तथा यौनजन्य रोगसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा एलिफेन्ट भिलेज रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा वडा नं. २१ र २२ का स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्राथमिक उपचार प्रशिक्षक पिताम्बर कोइरालाले दुर्घटना, अत्यधिक रक्तश्राव, हड्डी भाँचिने, बेहोस हुने तथा सर्पदंशजस्ता आकस्मिक अवस्थामा स्वास्थ्यकर्मी पुग्नुअघि अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचार विधिबारे व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। उहाँले सही समयमा गरिएको प्राथमिक उपचारले बिरामीको अवस्था थप गम्भीर हुनबाट रोक्न र जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

यस्तै, यौनजन्य रोगसम्बन्धी प्रशिक्षक आयुष्मा भट्टराईले यौनजन्य संक्रमणका कारण, लक्षण, रोकथामका उपाय तथा समयमै परीक्षण र उपचारको आवश्यकताबारे जानकारी गराउनुभयो। उहाँले यस्ता रोगलाई लुकाएर नराखी स्वास्थ्य संस्थाबाट परामर्श तथा उपचार लिन र सुरक्षित व्यवहार अपनाउन आग्रह गर्नुभयो।

अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विनयकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुवास श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा वडा सदस्य जमुना गौतम, अमलेखगञ्ज स्वास्थ्य चौकी प्रमुख अप्सरा तिवारी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जका सहायक प्रधानाध्यापक रोहितबहादुर घिसिङ तामाङ, एन्जल फाउन्डेसनका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले उपचारभन्दा रोगको रोकथाम प्रभावकारी हुने उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान हरेक नागरिकका लागि आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा स्वास्थ्यप्रतिको जागरूकता बढाउनुका साथै आपत्कालीन अवस्थामा सही निर्णय लिन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सहभागीहरूले प्रशिक्षण दैनिक जीवन र आकस्मिक अवस्थाको सामना गर्न उपयोगी रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

एन्जल फाउन्डेसनले स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले निःशुल्क स्वास्थ्य शिविर, प्राथमिक उपचार तालिम, यौनजन्य रोगसम्बन्धी अभिमुखीकरण तथा सरसफाइसम्बन्धी कार्यक्रममार्फत समुदायस्तरमा स्वास्थ्य सचेतना विस्तार गर्दै आएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै