Logo

७ साउन, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीहरूको दैनिक कारोबार व्यवस्थापन र सूचना प्रवाहलाई सहज तथा सुरक्षित बनाउने उद्देश्यले आधिकारिक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ ।

महासंघको सचिवालय कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उक्त वेबसाइट र मोबाइल एपको औपचारिक शुभारम्भ गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रवालले सूचना प्रविधिको प्रयोगबाट व्यवसायलाई आधुनिक, व्यवस्थित र पारदर्शी बनाउने महासंघको यो प्रयास समयसापेक्ष र अनुकरणीय रहेको बताए । कार्यक्रममा महासंघका अध्यक्ष किसान सुनारले वेबसाइट तथा मोबाइल एपमार्फत सदस्य व्यवसायीहरूलाई आवश्यक सूचना, सेवा र व्यवसाय व्यवस्थापनसम्बन्धी सुविधा सहज रूपमा उपलब्ध गराउने लक्ष्य रहेको स्पष्ट पारे ।

सार्वजनिक गरिएको डिजिटल प्रणालीमार्फत व्यवसायीहरूले सुन तथा चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना, ऐन, नियम तथा निर्देशिका, कार्यक्रमसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

महासंघले आगामी दिनहरूमा पनि सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सुनचाँदी र आभूषण व्यवसायलाई थप आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै