९ साउन,काठमाडौं । भारतमा शिक्षा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी)का दुई प्रमुख मागमा सरकार सकारात्मक देखिएको छ। सीजेपीका प्रवक्ता आशुतोष राङ्का र सौरभ दासले शुक्रबार केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग गरेको उच्चस्तरीय वार्तामा यसबारे सैद्धान्तिक सहमति भएको हो।
वार्ताका क्रममा सरकारले प्रवेश परीक्षासँग सम्बन्धित घटनाका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा आन्दोलनमा सहभागी विद्यार्थीमाथि कुनै पनि कानुनी कारबाही नगर्ने विषयमा सहमति जनाएको सीजेपीले जनाएको छ।
यद्यपि आन्दोलनकारीको मुख्य मागमध्ये एक रहेको केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे भने निर्णय हुन बाँकी रहेको छ। सीजेपीका प्रवक्ता आशुतोषका अनुसार सरकारले यस विषयमा निर्णयका लागि आज दिउँसोसम्मको समय मागेको छ।
चिकित्सा प्रवेश परीक्षामा प्रश्नपत्र चुहावटका घटनापछि शिक्षा प्रणालीमा सुधार र शिक्षामन्त्री प्रधानको राजीनामाको माग गर्दै सीजेपीले देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेको छ। आन्दोलनकारीहरूले शिक्षामन्त्रीलाई पदबाट नहटाइए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।
आन्दोलनका प्रमुख समर्थक सोनम वाङ्चुकले भने सरकारबाट शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कारबाही नहुने आश्वासन पाएपछि २६ दिनदेखि जारी अनशन स्थगित गरेका छन्।
प्रवेश परीक्षामा बारम्बार प्रश्नपत्र चुहावटका घटनापछि उत्पन्न असन्तुष्टिबाट सुरु भएको सीजेपीको अभियानमा ठूलो सङ्ख्यामा विद्यार्थी सहभागी भएका छन्। युवा नेतृत्वमा अघि बढिरहेको यो आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही वर्षयताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलनका रूपमा यसलाई हेरिएको छ।




















