Logo

१० साउन, काठमाडौँ । पाकिस्तानको इस्लामावादमा जारी ‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन’ (काभा) मेन्स च्याम्पियनसिपमा खराब सुरुआत गरेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले आज आफ्नो चौथो खेलमा बङ्गलादेशको सामना गर्दै छ। लगातार तीन खेलमा हार बेहोरेको नेपालका लागि सेमिफाइनलको यात्रा जीवन्त राख्न आज जित्नैपर्ने दबाब छ ।

नेपाल र बङ्गलादेशबिचको यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे इस्लामावादस्थित भलिबल हलमा सुरु हुनेछ ।

प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपाल लगातार तेस्रो हारपछि तालिकाको पुछारतिर धकेलिएको छ। शुक्रबार भएको खेलमा नेपाली टोली घरेलु टोली पाकिस्तानसामु पूर्ण रूपमा निरीह देखियो। पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० को सोझो सेटमा सहजै पराजित गरेको थियो ।

यसअघिका प्रतिस्पर्धात्मक खेलहरूमा नेपाल काजकिस्तान र श्रीलङ्कासँग समान ३–२ को सेटमा अन्तिम समयमा चुक्दै पराजित हुन पुगेको थियो। लगातारको हारले मनोबल खस्किए पनि बङ्गलादेशविरुद्ध जित निकाल्दै अघिल्लो यात्रा सुरक्षित गर्ने दाउमा नेपाली टोली छ ।

सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताका शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने पुछारका टोलीहरूले पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो चरणको अन्तिम खेल भोलि उज्बेकिस्तानसँग खेल्नेछ ।

यदि नेपालले बाँकी दुवै खेलमा जित हात पारेमा मात्र सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित रहनेछ । त्यसैले आज बङ्गलादेशविरुद्धको खेल नेपालका लागि ‘गर या मर’ को स्थितिमा रहनेछ ।


सम्बन्धित समाचार