काठमाडौँ, साउन ११ — नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको हिंस्रक झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको विषयलाई लिएर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबिचको तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको र सुरक्षाकर्मीसहित २१ जना घाइते भएको घटनाप्रति लक्षित गर्दै नेता बास्कोटाले गृहमन्त्रीको राजीनामा माग्नुभएको हो। कर्फ्यु जारी रहेकै अवस्थामा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी जारी राखेपछि परिस्थिति नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बास्कोटाले गृहमन्त्रीमाथि तिखो व्यङ्ग्य गर्नुभएको छ । उहाँले गृहमन्त्रीले घटनाको जिम्मेवारी लिनुपर्ने बताउँदै संसदको रोष्ट्रममा उभिएर रोएर उम्किन नमिल्ने जिकिर गर्नुभएको छ। घटनाको नैतिक र कानुनी जिम्मेवारी लिँदै गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने उहाँको माग छ ।




















