Logo

११ साउन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगञ्जमा प्रदर्शन गरिएको छ।

पर्साको ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी गत शुक्रबार बिहान आफ्नै घर नजिक रहेको गोठमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। तर उनको मृत्यु आत्महत्याबाट नभई हत्या गरेर शव झुन्ड्याइएको हुन सक्ने दाबी गर्दै माइती पक्षले निष्पक्ष अनुसन्धानको माग गरेको छ।

मृतक लक्ष्मीको शव नारायणी अस्पतालमा पोस्टमार्टमपछि चार दिनदेखि शवगृहमा राखिएको छ। माइती पक्षले पोस्टमार्टम रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान लिएपछि शव अस्पतालमै रहेको हो।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै लक्ष्मीको माइती गाउँ ठोरीबाट महिला, आफन्त तथा परिवारजन सोमबार वीरगञ्ज आएका थिए। उनीहरूले नयाँ बसपार्क चोकबाट नाराबाजीसहित र्‍याली निकालेर घण्टाघर पुगेका थिए।

प्रदर्शनपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले ज्ञापनपत्र बुझाउँदै लक्ष्मीले आत्महत्या नगरेको दाबी गरिन्। उनले पति, सासु र ससुराले कुटपिट गरी हत्या गरेर शव गोठमा झुन्ड्याएको आरोप लगाउँदै घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरिन्।

माइती पक्षले मृतकका पति सुधीर सिलवाल, सासु, ससुरा तथा सुधीरका दिदी–भिनाजु घटनामा संलग्न रहेको आरोप लगाएको छ। यद्यपि आरोपको आधिकारिक पुष्टि भने अनुसन्धानबाट हुन बाँकी छ।

ज्ञापनपत्रमा पोस्टमार्टम रिपोर्ट पुनः परीक्षण गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्नुपर्ने, मृतकको मोबाइल र ब्याग सार्वजनिक गर्नुपर्ने तथा घटनामा संलग्न भनिएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुपर्ने लगायतका माग राखिएको छ।

यता प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार मृतकका पति सुधीरलाई घटनाकै दिन नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ। सासु र ससुरालाई पनि नियन्त्रणमा लिइए पनि वृद्ध अवस्थाका कारण मृतकका आफन्तको सहमतिमा तारिखमा छाडिएको उनले बताए।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्नेछ। प्रहरीले घटनाका सबै पक्षमाथि अनुसन्धान भइरहेको जनाएको छ।

माइती पक्षले भने लक्ष्मीमाथि लामो समयदेखि घरेलु हिंसा हुँदै आएको दाबी गरेको छ। उनीहरूका अनुसार घटनाको दिन चुरा फुटेको अवस्थामा भेटिएको, झगडा भएको कोठा नजिक रगतका दाग देखिएको, पासो लगाइएको भनिएको डोरी बाँधिएको अवस्थामा नरहेको र शव भुइँमा भेटिएको लगायतका विषयले घटना शंकास्पद देखिएको छ।

मृतकका आफन्तले उनका चार वर्षीय छोराले समेत बाबाले आमालाई कुटपिट गरेको बताएको दाबी गरेका छन्। प्रहरीले भने घटनासम्बन्धी प्रमाण र बयानका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


सम्बन्धित समाचार