Logo

११ साउन, काठमाडौं । अमेरिकाले निर्माण गरेको अत्याधुनिक ‘फ्रिफ्लाइ अल्टा एक्स जेन–२’ ड्रोनको नेपालको आमा दब्लम हिमालमा सफल परीक्षण प्रदर्शन गरिएको छ ।

नेपालस्थित अमेरिकी दूतावास, कोकाकोला फाउन्डेसन र सेभेन समिट ट्रेक्सको सहकार्यमा नेपाली ड्रोन अपरेटरहरूले गत जुन महिनामा सो ड्रोनको उडान परीक्षण गरेका हुन् ।

समुद्र सतहबाट ४,६०० मिटरको उचाइमा रहेको अमा दब्लम आधारशिविरदेखि करिब ५,०५० मिटर उचाइको याक क्याम्पबिच ड्रोन उडान गराइएको थियो । परीक्षणका क्रममा ड्रोनले अक्सिजन सिलिन्डर र पर्वतारोहणका आवश्यक उपकरणहरू बोकेर ठाडो हिमाली भूभागमा १.६ किलोमिटरको दूरी सफलतापूर्वक पार गरेको छ ।

कठिन भौगोलिक वातावरणमा अमेरिकी व्यावसायिक ड्रोन प्रविधि र नेपाली पर्वतीय विज्ञताको यो सहकार्यले उच्च हिमाली क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको दूतावासले जनाएको छ ।

अत्यधिक उचाइमा गरिएका सबै उडानहरू सफल भएकाले यो प्रविधि भरपर्दो र प्रभावकारी साबित भएको अमेरिकी दूतावासको दाबी छ। यस्ता ड्रोनको प्रयोगले पर्वतारोहणका क्रममा शेर्पाहरूले बोक्नुपर्ने जोखिमपूर्ण भारी कम गर्न, पर्वतारोहीको सुरक्षा बढाउन र आवश्यक सामग्री द्रुत गतिमा पुर्‍याउन सहयोग पुग्नेछ ।

साथै, खोज तथा उद्धार, हिमाली सरसफाइ, विपद् व्यवस्थापन र दुर्गम क्षेत्रमा औषधि तथा आपत्कालीन सामान ढुवानीमा समेत यो प्रविधि कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

यसैबिच, अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५० औँ वर्ष मनाउँदै गर्दा भएको यो साझेदारीले दुई देशबिचको अन्वेषण र नवप्रवर्तनको भावनालाई थप उचाइमा पुर्‍याएको बताउनुभएको छ ।


सम्बन्धित समाचार