११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार दुई समूहबिचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सोमबार झन् उग्र बनेको छ ।
स्थानीय प्रशासनले बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे पनि त्यसलाई उल्लङ्घन गर्दै उत्रिएका प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ ।
सोमबार बिहानैदेखि देवानगञ्ज तथा इनरुवा क्षेत्रमा ठूलो सङ्ख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीहरूले घरपसल र सवारी साधनलाई निशाना बनाएका छन् । देवानगञ्ज–२ मा स्थानीय अनबर अन्सारी र अबाफ अन्सारीका कच्ची घर, हार्डवेयर पसल, दुई वटा मोटरसाइकल तथा एउटा ट्याक्टरमा प्रदर्शनकारीको समूहले आगजनी गरेको छ ।
यसैबिच बजारबाट घर फर्कने क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ । टाउकोमा गम्भीर चोट लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनको असर जिल्ला सदरमुकाम इनरुवा र पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा समेत फैलिएको छ । इनरुवामा प्रदर्शनकारीहरूले एक सर्वसाधारणमाथि निर्घात कुटपिट गर्नुका साथै मोटरसाइकल शो–रुमका सिसा, गाडी र प्रहरी बिटमा तोडफोड गरेका छन् ।
सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित बनेको छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ भने जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।




















