Logo

११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न जिल्लाका राजनीतिक दल तथा सरोकारवालाबिच सर्वपक्षीय सहमति भएको छ ।

सोमबार आयोजित सर्वपक्षीय बैठकमा सहभागी सबै पक्षले साम्प्रदायिक हिंसा र तनाव रोकथामका लागि आ(आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेका अनुसार देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रको सुरक्षा स्थिति हाल पूर्ण रूपमा नियन्त्रणमा रहेको छ । जिल्ला सुरक्षा समितिको निरन्तर बैठक बसिरहेको र समग्र जिल्लाको सुरक्षा व्यवस्था कमान्ड र कन्ट्रोलभित्रै रहेको उहाँले जानकारी दिनुभयो ।

यद्यपि, मुख्य तनावग्रस्त क्षेत्रहरू शान्त बन्दै गए पनि लौकी र भोक्राहा क्षेत्रमा केही समूहले राजमार्ग अवरुद्ध गर्ने प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार सोमबार कुनै थप मानवीय क्षति वा नयाँ अप्रिय घटना भएको छैन भने सो घटनामा हालसम्म एक जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । राजमार्ग खुलाउन र जिल्लाभर स्थिति पूर्ण रूपमा सामान्य बनाउन अतिरिक्त प्रहरी टोली परिचालन गरिएको छ ।


सम्बन्धित समाचार