११ साउन,काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेश प्रहरी प्रमुख परिवर्तन गरिएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।
सुनसरी घटनाका बेला कोशी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ। घिमिरेको स्थानमा खनाललाई खटाइएको हो।
सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिले एक साताभित्र घटनाबारे प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ।
सुनसरी घटनापछि सरकारले सुरक्षा व्यवस्थापन र घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रशासनिक तथा सुरक्षा नेतृत्वमा फेरबदल गरेको हो।




















