Logo

१२ साउन, काठमाडौँ । निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका उम्मेदवारहरूमाथिको संसदीय सुनुवाइ प्रक्रिया आज मङ्गलबारदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको हलमा बिहान ११:१५ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित पदाधिकारीहरूको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौँ) लाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

समितिको गत साउन ५ गते बसेको बैठकले तय गरेको कार्यतालिका अनुसार आज साउन १२ गते प्रस्तावित दुई आयुक्तहरूको सुनुवाइ हुनेछ भने भोलि साउन १३ गते प्रस्तावित प्रमुख आयुक्तको प्रस्तुतीकरण तय गरिएको छ । दुवै दिनको बैठक बिहान सवा ११ बजे नै आह्वान गरिएको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

सुनुवाइ प्रक्रिया सुरु हुनुअघि समिति सदस्यहरूले प्रस्तावित पदाधिकारीहरूविरुद्ध परेका उजुरी र उनीहरूले पेस गरेका कार्ययोजनाको गहन अध्ययन गर्नेछन् । यस प्रक्रियालाई सहज बनाउन उजुरीसम्बन्धी सम्पूर्ण कागजात र प्रस्तावित पदाधिकारीका विवरणहरू समिति सदस्यहरूको इमेलमा पठाइसकिएको छ ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई औपचारिक रूपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


सम्बन्धित समाचार