Logo

विशाल पटेल

४ जेठ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा अब एमआरआई मेसिन सञ्चालन हुने भएको छ। अस्पतालमा आउने बिरामीहरूको सुविधालाई मध्यनगर गर्दै एमआरआई मेसिन सञ्चालन गर्न लागिएको हो।

अस्पतालमा ल्याइएको एमआरआई मेसिन जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको अस्पतालका प्रवक्ता एवम् फ्यामिली फिजिसियन डा.उदय नारायण सिंहले जानकारी दिए। उनले अगामी साउन महिनादेखि अस्पतालमा एमआरआई मेसिन जडान प्रक्रिया पूरा गरेर सञ्चालनमा आइसक्ने बताए।

सिंहका अनुसार एमआरआई मेसिनमा लाग्ने हिलियम केमिकलको अभावमा एमआरआई मेसिन सञ्चालन गर्नमा ढिलाइ भएको बताए। तीन महिनाअघि एमआरआई मेसिन नारायणी अस्पतालमा आइपुगेको थियो। हिलियम ग्यासको अभाव विश्वभरि नै भएकोले ग्यास पाउने बित्तिकै एमआरआई मेसिन सञ्चालनमा आउने सिंहको भनाइ छ।

अहिले निजी अस्पतालहरूमा बिरामीहरूले एमआआई गराउनुपर्दा १० देखि १५ हजार रुपैयाँ तिर्नुपर्छ। तर नारायणी अस्पतालमा एमआरआई जडान भएपछि निजी अस्पतालको भन्दा ३० देखि ४० प्रतिशत कम खर्चमा बिरामीले एमआरआई सेवा पाउनेछन्।
‘आगामी साउन महिनासम्ममा एमआरआई मेसिन सञ्चालन गर्नेगरी काम भइरहेको छ।

अहिले विश्वभरि नै हिलियम ग्यासको अभाव छ, त्यही भएर सञ्चालन गर्न ढिलाइ भएको हो’, उनले भने, ‘हिलियम ग्यास आउने बित्तिकै एमआरआई सेवा सञ्चालन हुनेछ।’

अस्पतालमा आएको एमआरआई मेसिन जडान गर्न पहिलो चरणको काम सकिएको र दोस्रो चरणको काम पनि सकिएर एमआरआई मेसिन सञ्चालनको लागि तयारी भइरहेको नारायणी अस्पतालका स्टोर शाखाका प्रमुख सुनिल रौनियारले जानकारी दिए।
रौनियारले अन्तिम चरणमा हिलियम ग्यास जडान भएपछि परीक्षण गरेर मेसिन सञ्चालनमा ल्याइने बताए।

नारायणी अस्पतालमा नै एमआरआई सेवा उपलब्ध हुने कुरा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको लागि खुसीको कुरा भएको अस्पतालमा उपचारको लागि आएका पर्सा बहुदरमाई नगरपालिकाका सिकेन्द्र कुमार पण्डितले बताए।‘सरकारी अस्पतालमै एमआरआई सुविधा दिने कुरा राम्रो हो। हामीजस्ता गरिब बिरामीहरू त चाहन्छौँ– सरकारी अस्पतालमै सबै सेवा पाइयोस्, एमआरआई पनि चाँडै सञ्चालनमा आओस्’,उनले भने।


सम्बन्धित समाचार