Logo

७ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरु हुँदैछ । छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । साथै नीति तथा कार्यक्रममाथि नेकपा एमालेका अध्यक्ष एंव प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका वारेमा पार्टीको धारणा राख्नुहुने भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै एमालेले त्यसलाई असफल पार्ने योजनामा रहेको अध्यक्ष ओलीको भनाई छ । आज अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको विरोधसमेत जनाउने छन् ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।

‘मुलुकलाई सही दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिवार बसेको संसदीय दलको बैठकमा भनेका थिए, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’

नीति तथा कार्यक्रममा छलफलमा भाग लिने सांसदहरुले नीति तथा कार्यक्रममा संशोधन प्रस्तावहरु समेत राख्न सक्ने आकलन गरिएको छ ।

आर्थिक वर्ष २०८० ८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्नेछ ।


सम्बन्धित समाचार