Logo

२५ जेठ,वीरगञ्ज । विद्यालय जाने छात्रालाई वितरण गर्न भनेर मधेश प्रदेश सरकारले खरिद गरेर राखेका पाँच हजार साइकल काम नलाग्ने हुँदै गएका छन् ।साइकलका पार्टपुर्जामा खिया लागेको छ, हावा फुस्काइएमा टायर पनि बिग्रिन थालेका छन्।

साइकल माकुराको जालो र धुलोले छोपिएका छन भने साइकल थन्क्याइएको ‘मधेश भवन’ को गोदामकै छानो चुहिने अवस्थामा रहेको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले २०७८ साउनमा खरिद गरेका १० हजार थान साइकलमध्ये वितरण हुन बाँकी पाँच हजार थान साईकलमा खिया लागिरहेको छ ।

यो कार्यक्रम हाल बेटी पढाउ बेटी बचाउ कार्यक्रम हाल शिक्षा विकास निर्देशनालय अन्तर्गत सारिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गोदाममा थन्क्याएर राखिएका साइकलको जिम्मेवारी मुख्यमन्त्री कार्यालयले नलिने निर्णय गरिसक्नु भएको मुख्यमन्त्री कार्यालयका सचिव नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

साइकलको सुरक्षा, उपयोग र भुक्तानीका लागि जिम्मेवार नभएको भनेर गत चैत ३० गते मुख्यमन्त्री यादवले निर्णय गरिसक्नुभएकोले साइकल छ कि छैन, के भयो भएन आफुहरुलाई मतलब नभएको उहाँले बताउनु भयो ।मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको सरकारले साइकल वितरणले शिक्षाप्रति आकर्षण बढ्ने तथा अभिभावक पनि छोरी पढाउनेतर्फ अग्रसर हुने निष्कर्षका साथ कक्षा ८ मा पढ्ने प्रदेशभरका छात्रालाई साइकल दिने निर्णय गरि कार्यक्रम ल्याएको थियो ।

उक्त निर्णयअनुसार २०७५ साल माघ १ मा साइकल वितरण सुरु भएको थियो । वितरणको चौथो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले टेन्डर गरेर काठमाडौंको ‘स्यान्यो इन्टरनेसनल प्रा.लि.’ बाट ८ करोड ४४ लाख १० हजार रुपैयाँमा १० हजार साइकल खरिद गरेको थियो ।खरिदका सम्बन्धमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६÷७७ मा मधेश सरकारले १७ हजार साइकल खरिद गर्दा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरि बिशेष अदालतमा मुदा समेत दर्ता गराएको छ ।

मुदा दर्ता भएसँगे हाल पाँच हजार साईकलको जिम्मेवारी कसैले पनि लिन नमानेका कारण ती साईकलहरुमा खिया लागन थालेको छ ।‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत हाल छोरी बीमा कार्यक्रम मात्र चलेको छ ।


सम्बन्धित समाचार