Logo

क्यासिनो भन्ने वित्तिकै कामुकता, मदिरा, मात, रात, जुवा, तास जस्ता विषय दिमागमा आउँछ । तर, क्यासिनोमा काम गरेपनि यस्ता विषयबाट टाढै रहेका व्यक्तिहरु पनि हुन्छन् समाजमा ।

छोटो समय भएपनि क्यासिनोसँग जोडिएका तर, कामुकता, मदिरा, मात, रात, जुवा, तास जस्ता विषयको कुलतमा नफसेका व्यक्तिहरुमा एक रमेशकुमार भट्टराई पनि हुन् । अहिले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका भट्टराई कलेज अध्ययनको अल्लारे उमेरमा भने क्यासिनोमा जोडिएका थिए ।

उनै भट्टराईलाई हामीले उनको वाल्यकाल, त्यो बेला दशैं मनाउने चलन र उनको दशैं अनुभवबारे बताउन आग्रह गरेका थियौं । हाम्रो आग्रह अनुसार उनले वाल्यकालको दशैं अनुभव र आफ्नो जीवनयात्रा बारे बताएका कुरा उनकै शब्दमाः

मेरो जन्म बीरगञ्जको गहवामा भएको हो । बीरगञ्जको एउटा ठूलो र महत्वपूर्ण एउटा शक्तिपीठ गहवामाई मन्दिर हो । गहवा भन्ने ठाउँ त्यही मन्दिरको पछाडिपट्टी पर्छ । मेरो जन्म २०१५ साल मंसिर २३ गते भएको हो ।

हामीहरु पहिला काठमाडौंको पकनाजोले भट्टराई रहेछौं । हाम्रो बंशावली हेर्दा पकनाजोलमा नातागोता भेटिन्छन् । मेरो हजुरवुवाभन्दा अगाडिको पुस्ता बीरगञ्ज झरेको रहेछ । र, म भने फेरि काठमाडौं फर्किए । बीरगञ्जमा हाम्रो एउटा घर मात्रै थियो । त्यो बेचेर बत्तिसपुतली फर्कियौं ।

महालक्ष्मी फाइनान्सको १० वर्ष एमडी भएपछि मैले अब यो संस्थामा योभन्दा बढी बस्नुहुँदैन भनेर राजीनामा दिएँ । त्यो बेला मधेश आन्दोलन पनि सुरु भएको थियो । केटाकेटीको पढाई पनि काठमाडौमा थियो । हामी नेपालीमा पुखौली सम्पत्ति बेच्नुहुँदैन भन्ने चलन पनि छ । तर, बाउबाजेको सम्पत्ति सक्नु पो हुँदैन, त्यो सम्पत्ति प्रयोग गरेर आफूलाई पायक पर्ने ठाउँमा जोड्न हुन्छ भन्ने मेरो मान्यता रह्यो । अनि बुबाले गहवामा बनाउनुभएको ३ कोठे घर र मैले नेपाल बैंकबाट ऋण लिएर उमाशंकरमा बनाएको २ तले घर बेचेर काठमाडौं आयौं ।

मेरो जन्म, कर्म, शिक्षा सबै बीरगञ्जमा भयो । मैले प्रारम्भिकदेखि बीकमसम्मको अध्ययन बीरगञ्जमा नै गरें । उच्च शिक्षा भने काठमाडौंको शंकरदेव कलेजबाट गरें । त्यो बेला घरबाट खर्च पठाउन सक्ने अवस्था थिएन । त्यसैले सोल्टी होटलको क्यासिनो नेपालमा राति–राति जागिर गर्दै पढें । त्यो जागिर मेरो वाध्यताको कारण थियो । क्यासिनाको जागिर, रात छ, रक्सी छ, जुवातास छ, केटी छ सबथोक छ ।

यो माहोलमा भिजियो भने यसबाट निस्कन सकिदैन भन्ने लाग्यो । त्यहाँ ६ महिना जागिर गरेपछि क्यासिनोको भन्दा एक चौथाई तलब पाउने गरी केन्द्रीय तथ्यांक विभागमा जागिर सुरु गरें । क्यासिनोमा २०३७ सालमा मेरो तलब १८५० रुपैयाँ हुन्थ्यो । त्यो बेला शाखा अधिकृतको तलब ६०० रुपैयाँ थियो । मैले क्यासिनोको जागिर छोडेर सुरु गरेको केन्द्रीय तथ्यांक विभागमा २३० रुपैयाँ तलब थियो । तर, मैले त्यतिबेला क्यासिनोको जागिर नछोडेको भए अहिले जुन अवस्थामा छु, त्यो अवस्थामा हुदिन थिएँ होला ।

हामी केटाकेटी हुँदा बीरगञ्जमै हुन्थ्यौं । त्यहाँको शक्तिपीठ गहवामाई मन्दिर आफैमा एकदमै प्रशिद्ध थियो । नौरथाको नवै दिन त्यहाँ मेला लाग्थ्यो । हामीपनि आमासँगै त्यही मन्दिरमा जान्थ्यौं । एकदमै रमाइलो हुन्थ्यो । उल्लसमय वातावरण हुन्थ्यो । अष्टमीको दिन त्यहाँ बली हुने गथ्र्यो । हजारौंको संख्यामा बली दिइन्थ्यो ।

हामी आर्थिक रुपमा कमजोर परिवारका मान्छे थियौं । दुईछाक कसरी टार्ने भन्ने चिन्ता हुन्थ्यो । मासु खानको लागि पनि चाडबाड नै आउनु पथ्र्यो । घरमा खसी काट्न सक्ने आर्थिक हैसियत हाम्रो परिवारको थिएन । दशैं आउने भएपछि धेरै पहिलादेखि नै उल्लास हुन्थ्यो । दशैंको बेलामा बजारबाट मासु किनेर ल्यापनि अलि धेरै ल्याइन्थ्यो । पिङ भने त्यति धेरै हुँदैनथ्यो ।

दशैंमा परिवारभित्र तास भने खेलिन्थ्यो । तिहारमा पनि ३ दिन खेलिन्थ्यो । मलाई अहिले पनि सम्झना छ– परिवारभित्र जुटपत्ती र किट्टी खेलिन्थ्यो । म सानो हुँदा तासमा कहिलेकाही जितेको पनि याद छ । अरु खेल खेल्न पनि जानिएन, खेल्ने बाँनी पनि भएन । एक त त्यो बेला पैसा पनि हुँदैनथ्यो । पैसा नभएपछि खेल्न पाइएन र खेल्नेको संगतमा पनि पुगिएन । संघर्ष गर्दा गर्दै खेल्ने र पिउनेको संगतमा जाने समय नै पाइएन र लभको चक्करमा पनि परिएन । भरण पोषणकै समस्या भयो भने अन्यत्र ध्यान पनि जादैन, फुर्सद पनि हुँदैन ।

संघर्ष गरेर नै मास्टर्स गरें, कानुनमा पनि स्नातक गरें । अनि २०३८ सालमा नेपाल बैंकमा अधिकृतको जागिर खाएर बीरगन्ज गइयो । त्यसपछि मेरो कर्पोरेट लाइफ सुरु भयो । त्यहाँदेखि सुरु भएको कर्पोरेट यात्रा आज ४१औं वर्षमा कुद्दैछ ।

महालक्ष्मी लाइफ मेरै पहलमा खुलेको कम्पनी हो । त्योभन्दा अघि एसियन लाइफ पनि मैले नै टीम बनाएर खोलेको थिएँ । त्योअघि नेपाल लाइफको सीइओ थिएँ । त्यसअघि १० वर्ष महालक्ष्मी फाइनान्सको एमडी भएँ । महालक्ष्मी फाइनान्स पनि मैले आफैले खोलेको कम्पनी हो । त्यसअघि १२÷१३ वर्ष नेपाल बैंकमा जागिर खाएँ ।

हामी २ दाजुभाइ र २ दिदीबैनी थियौं । दशैं आएपछि धेरै मासुु खान पाइन्थ्यो । नयाँ लुगापनि त्यही बेला लगाउन पाइन्थ्यो । दशैंमा बुवाले निलो हाफपाइन्छ र आकाशी रंगको सर्ट किनिदिनुहुन्थ्यो । आज सबैथोक छ । तर त्यो बेलाको जस्तो खुसी आज छैन । त्यो बेलाको जस्तो उल्लासको वातावरण अहिले छैन ।

त्यो बेलामा टिका लगाउँदा दक्षिणा पाइन्थ्यो । त्यही दक्षिणको आशमा १० ठाउँमा आफन्त छन् भनेपनि हिडिहिडी गइन्थ्यो । सुका मोहोर दक्षिणा पाइन्थ्यो । कही १० पैसा पनि पाइन्थ्यो । दशैंको ३÷४ दिनको हाम्रो काम नै दक्षिणा लिनको लागि टीका लगाउन जाने भन्ने हुन्थ्यो । सबै आफन्त पनि बीरगन्जमै हुनुहुन्थ्यो । मामाघर पनि त्यही थियो । आज कमाएको जाला कि भनेर हामी रिक्सा पनि नचढी हिड्थ्यौं ।

अहिले पैसाको त्यति भ्यालु भएन । पहिला हामीलाई १० पैसा पाउँदा जुन महत्व हुन्थ्यो, अहिले त्यो छैन । अहिलेका बच्चालाई हजार रुपैयाँ दियो भने पनि वास्ता नै छैन ।

अहिले पनि दशैं तिहारमा परिवारमा तास खेलिन्छ । अहिले प्राय म हार्छु । हार्दा पनि मजा आउँछ । परिवारमा रमाइलो हुन्छ । बाबालाई हराए भनेर छोराछोरी खुसी हुन्छन् ।

अहिले प्रविधि, सामाजिक संजाल, पाश्चात्य प्रभाव जस्ता कारणले परिवारहरु एक्लो भएर बसेका छन् । कि त विखण्डन भएका छन् । यो बेलामा दशैंको महत्व अझ बढी फिल हुनेगरी हामीले मनाउनुपर्ने हो । किनभने दशैंलाई बोझको रुपमा लिन थालिएको छ । प्रेसर फिल हुन थालेको छ । एक्लो बस्ने बानी पर्यो । घरघरमा काम गर्ने मानिस छैनन् । पहिलाको जस्तो काम गर्न सक्ने शरीर पनि छैन ।

दशैं आउन थाल्यो, धेरै भिडभाड हुने भयो, काम गर्ने मान्छे पनि छैन बरु घुम्न कतै जाउँ न भन्नेहरु धेरै हुन थाले । सक्नेहरु विदेश र नसक्नेहरु नजिकको गन्तव्यमा जान थाले । हिजोको जस्तो आत्मियता र सद्भाव अब छैन । हिजोको दिनमा जुन उल्लास हुन्थ्यो त्यो अहिले छैन । यो चै चिन्ताको विषय हो ।


सम्बन्धित समाचार