Logo

२० असार, वीरगन्ज । चर्चित रकस्टार तथा अभिनेता रविन तामाङको निधनमा नेपाली संगीत र फिल्म क्षेत्र स्तब्ध बनेको छ । मंगलबार राति निधनको खबरसँगै यो क्षेत्र शोकमा डुबेको छ ।

संगीतकर्मी, अभिनेता, सांसद र हितैषीले सामाजिक सञ्जालमार्फत तामाङसँगको क्षण स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरिरहेका छन् ।

रकस्टार अभया सुब्बाले रविनको निधनलाई एक युगको अन्त्य भएको बताएकी छन् । उनी भन्छिन्, ‘यो एक युगको अन्त्य हो । उहाँ मैले चिनेको सबैभन्दा राम्रो रकस्टार हुनुहुन्थ्यो । उहाँसँग मेरो धेरै यादहरू छन् । यो कुरा धेरै नराम्रोसँग दुख्छ । तपाईंले मेरो लागि गरेको सबै कुराको लागि धन्यवाद दाइ । मलाई थाहा छ तपाईं शान्त हुुनुहुन्थ्यो । हामी सबै तपाईंको आभाको वरिपरि हुन पाउँदा धन्य थियौं । यो मैले उहाँसँग खिचेको अन्तिम फोटो हो । रेस्ट इन पिस । तपाईंले हामी सबैलाई ईमानदारीपूर्वक माया र सम्मान गर्नुभयो ।’

सबैभन्दा पहिले पपगायक सविन राईले रविनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । उनी निकट अभिनेता कार्मले गायक तामाङसँगको पछिल्लो भेटको क्षणलाई स्मरण गर्दै तस्वीर सेयर गरेका छन् । रेड पिटरको अन्तिम शोका लागि पछिल्लोपटक बज्र नाटक घरमा भेटेको र आगामी साता पेरिसमा भेट्ने योजना बनाएको उनले उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सुमना श्रेष्ठ र असिम शाहले पनि तामाङको निधनमा शोक व्यक्त गरेका छन् । ‘रविन दाइ तपाईंलाई हामी एकदमै मिस गर्छौ । रविन दाइले नेपालको संगीत क्षेत्रमा एक युगलाई परिभाषित गर्नुभयो । हामीले एक प्रतिभाशाली संगीतकार र रत्नलाई गुमायौं,’ सांसद श्रेष्ठ लेख्छिन् ।

हरिवंश आचार्य, निमा रुम्बा, सञ्जय श्रेष्ठ, राजेशपायल राई, दीपक बज्राचार्य, मंगोलियन हार्ट, कबवेभसहितका कलाकार र ब्याण्डले पनि रविनको निधनमा सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरिरहेका छन् ।


सम्बन्धित समाचार