Logo

९ साउन, रौतहट । रौतहट जिल्ला बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुले कारबाहीको माग गर्दै गौरमा प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा सोमबार गौरमा जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।

प्रदर्शनकारीले गौर हत्याकाण्डको मुख्य दोषी साह भएको जिकिर गर्दै कारबाहीको माग गरेका हुन् । त्यस्तै २३ असार २०६८ मो कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारी लगायतको हत्यामा पनि प्रभु साहको संलग्नता रहेको आरोप लगाउदै सत्तारुढ ६ दलीय मोर्चाले साहलाई तत्काल गिरफ्तार गर िकार्वाही गर्न माग गरेको छ ।

यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो ।

६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारवाही नभएको भन्दै आम जनता पार्टीले १ साउनमा प्रर्दशन गरेपछि सोमबार ६ दलले संयुक्त रुपमा साहको विरुद्धमा गौरमा प्रर्दशन गरेका हो ।

गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र त्यसको नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी उनी रहेको अध्यक्ष यादवले बताए ।

यता प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीले गौर हत्यामा संलग्नलाई कार्वाही नगरे १५ गते देखि रौतहट वन्द लगायका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आम जनता पार्टीले गरेको घोषणाको विरुद्ध ६ दलिय मोर्चाले प्रतिवाद गर्न प्रभु साहलाई कार्वाहीको माग राखेको बताइएको छ ।


सम्बन्धित समाचार