१४ साउन, वीरगन्ज। झापा र कास्कीमा आइतबार बिहान अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।
विभागले आज बिहान पौने ५ बजे सूचना जारी गरी भनेको छ, ‘झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ।
यसैगरी जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहावको जोखिम छ ।
साथै कुस्मा-पोखरा सडकखण्ड, घान्द्रुक र त्यस आसपास पहिरोको जोखिम छ । त्यसैले कमजोर र भिरालो जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
जल तथा मौस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सो क्षेत्र भई बहने साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाऔँ।’
#मौसम