Logo

फाइल तस्बिर

१६ साउन,कलैया । बाराबाट प्रहरीले घरेलु हतियार र जनावरका दाँत बरामद गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले आज बिहान जितपुरसिमरा उपमहानगरपालिका–१६, टाँगियाबस्तीका सागर लामाको घरबाट घरेलु हतियारसहित जनावरको दाँत बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा छापा हान्न गरेको प्रहरी टोलीले एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद, जनावरका दाँत र तीनवटा जनावरको नङ्ग्रा बरामद गरेको छ ।

प्रहरीले हातहतियार सहित बरामद भएका अन्य सामग्रीसहित लामालाई नियन्त्रणमा लिने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरी निरीक्षक जयकिशुन कुर्मीले जानकारी दिनुभयो ।

झडपमा इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराज गिरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । हतियार सहित पक्राउ परेका एक जना व्यक्तिलाई स्थानीयले प्रहरी माथि आक्रमण गरि भगाएका छन् ।


सम्बन्धित समाचार