Logo

१९ साउन, वीरगञ्ज । हतकडीसहित गाउँलेको सहयोगमा फरार भएका बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङीयाबस्तीका ३५ बर्षका सागर लामा पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न ठुलो मात्रामा प्रहरी परिचालन गरि बल प्रयोग गर्ने तयारी भईरहेको जानकारी पाए लगत्तै आफन्तको सहयोगमा लामा ईलाका प्रहरी कार्यालय निजगढमा स्वयम् उपस्थित भए पश्चात प्रहरीले पक्राउ गरेको हो ।

साउन १६ गते लामाको घरमा खानतलासी गर्दा हतियार, ओखटेपहार सहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङगा मुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो । ठुला हतियार लुकाई राखेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि ईलाका प्रहरी निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो । उक्त स्थानबाट प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको थियो ।

लामा वन्यजन्तुको शिकारीमा संलग्न रहेको प्रहरीको अनुमान छ । लामालाई हातहतियार र वन्यजन्तु ओसारप्रसार बिरुद्ध कारवाही गरिने बाराका प्रहरी उपरिक्षक एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार