Logo

फाइल तस्विर

३० साउन, वीरगञ्ज । नेपालको सीमासँग जोडिएको भारतका विहार स्थित सीतामढी नजिकको एक गाउँमा एकहजार दरका नक्कली नेपाली नोट दुई अर्ब छपाएर नेपाल भित्र्याउदै आएको एउटा गिरोह मधेसका विभिन्न जिल्लामा सक्रिय रहेको पाइएको छ ।

सीतामढीमा लामो समय देखि जाली नोटको कारोवार गर्दै आएको महमद सलिम नाम गरेको एउटा गिरोहले करिव दुई अर्व नेपाली नोट छापेर मधेसका विभिन्न नाकाबाट नेपाल भित्र्याउने काम गर्दै आएको छ । वितेको छ महिनाको अवधिमा मधेसका नाकाबाट एकहजार दरका करिव ४० करोड नक्कली नेपाली नोट विभिन्न ठाउँमा पु¥याइएको स्रोतले जनाएको छ ।

जाली नोटको कारोवार गर्ने गिरोहले सीमावर्ती सीतामढी नजिकैको एउटा गाउँमा घर भाडामा लिएर भारतीय पैसासँग नेपाली नोट साटने गरेको स्रोतको भनाई छ । सलिमको समूहले एकलाख भारतीय रुपियाँ बरावर तीन लाख नेपाली नक्कली नोट दिने गरेको र उक्त कार्यमा नेपालीहरुको समेत संलग्नता रहेको बताइएको छ ।

स्रोतका अनुसार बारा, सर्लाही, महोत्तरी, सिराहा, हेटौडा, पोखरा र काठमाडौं घर भएका नेपालीहरुको समेत जाली नोट ओसारपोसार र कारोवारमा संलग्नता रहेको छ । मधेसका विभिन्न सरकारी तथा निजी क्षेत्रबाट संचालित बाणिज्य बैकका मुख्य जिम्मेवारीमा रहेका केही कर्मचारीको समेत नक्कली नोट सटहीमा संलग्नता रहेको स्रोतले दावी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले सीमावर्ती भारतीय शहरमा जाली नोटको कारोवारमा संलग्नहरुलाई पक्राउ गरेको थियो । बारा प्रहरीले सीतामढीमा पुगेर महमद सलिमको अखडामा छापामारेर उसलाई पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको थियो । तीन महिना जेल सजाय पछि कारागार मुक्त भएको जाली नोटको मुख्य कारोवारी सलिमले भारतका विभिन्न शहरमा नेपाली नोट छाप्ने मेसिननै राखेको प्रहरीको भनाई छ ।

भारतमा छापिने नेपाली नोट केही दिनमा बिग्रिने, नोटमा प्रिन्ट भएको कलर कालो हुदै जान थालेपछि बंगलादेशबाट समेत नेपाली नोट छापेर भारतका विभिन्न शहरमा पु¥याउने गरिएको स्रोतको दावी छ । भारतमा छापिने नोट भन्दा वंगलादेशमा छापिएर आएको नेपाली नक्कली नोट सक्कली नोटसँग छुट्टाउन नसकिने भएकोले नेपाली बैकहरुमा सजिलै जाने गरेको बताइएको छ ।

भारतको मधुवनी, सीतामढी, मोतिहारी, बेतिया, वगाहा र कप्तानगंज नजिकका ग्रामिण क्षेत्रलाई अखडा बनाएर जाली नोट कारोवार हुदै आएको स्रोतको भनाई छ । यसको कारोवारमा संलग्न एकजना मुख्य व्यक्ति दिल्लीमा वस्दै आएको र विभिन्न नाकामा नेपाली नक्कली नोट सटहीबाट जम्मा भएको भारतीय रुपियाँ दिल्ली स्थित एउटा घर भाडामा लिएर कारोवारीहरुले जम्मा गर्नेगरेको बताइएको छ ।

जाली नोटको कारोवारीहरुले नेपाली नक्कली नोट लिनको लागि भारतीय रुपियाँ उनीहरुले तोकेको स्थानमा दिनु पर्छ, स्रोतले भन्यो, “भारतीय रकम जम्मा गरेको एकसाता भित्र उनीहरुले नेपाली नक्कली नोट नेपालका सीमावर्ती शहर नजिक उनीहरुले क्यारियर्स मार्फत दिन्छन ।”

कारोवारमा संलग्न व्यक्तिहरुले भारतीय नम्वरका गाडी मार्फत सीमावर्ती नाकाबाट करिव ३ देखि ५ किलोमिटर नेपाल प्रवेशगरी डेलिभरी लिने व्यक्तिले तोकेको स्थानमा पैसा जिम्मा लगाएर फर्कने गरेको स्रोतको भनाई छ । भारतीय पैसा दिने वेलामा नेपाली नोट कहाँ कसरी डेलिभरी लिने भनेर तोकिएको हुन्छ त्यहीँ ठाउँमा उनीहरुले पु¥याईदिने गर्दछन् ।

कलैया, वीरगञ्ज र रक्सौलमा बसेर हुण्डीको कारोवार गर्ने केही व्यक्तिहरुले भारतीय नोटको प्रवन्ध मिलाई दिने गरेको स्रोतको भनाई छ । रक्सौलमा बसेर नेपालमा व्यापार गर्ने दुई जना रक्सौलका व्यापारीहरु यस कारोवारमा लागेको बताइएको छ । स्रोतका अनुसार रक्सौलका व्यापारीले भारतीय पैसाको ग्यारेन्टी लिएपछि नक्कली नेपाली नोट बारा र पर्साका विभिन्न सीमा नाकाहरुबाट कारोवारीहरुले भित्र्याउने गरेका छन् ।

मधेसका सप्तरी, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा रहेका केही बाणिज्य बैक र सहकारीहरुमा समेत जाली नोटको कारोवार हुने गरेको छ । स्रोतका अनुसार गएको जुलाई महिना सम्म महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको नाकाबाट करीव ४० करोड नक्कली नोट नेपाली बजारमा पुगेको अनुमान गरिएको छ ।

कारोवारमा संलग्न व्यक्तिहरुको अनुसार यस कार्यमा मकवानपुर घर बताउने लामा थरका एक व्यक्ति तथा महोत्तरी र सर्लाहीको बाणिज्य बैकमा काम गर्ने ३ जना बैकका कर्मचारीको संलग्नतामा उक्त रकम हेटौडा र पोखरामा पठाइएको स्रोतको भनाई छ । केही रकम क्यारियर्स मार्फत र केही रकम बैकमा जम्मा गरेर ती ठाउँबाट निकालिएको हो ।

केही दिन अघि काठमाडौंको थानकोटमा प्रहरीले पर्यटक बोक्ने गाडीको डिकीमा चाउचाउको काटुर्न भित्र लुकाएर ल्याइएको र विभिन्न ठाउँमा छापामारेर समातिएको करीव ५३ लाख रुपियाँको नक्कली नेपाली नोट फेला पारेको थियो । यसले पनि भारतीय नाकाबाट ठूलो परिणाममा नेपाली नक्कली नोट नेपाल भित्रिएको पुष्टी हुन्छ ।

नेपाल प्रहरीले एक बर्षको अवधिमा मधेसका विभिन्न जिल्लामा जाली नोटको कारोवारमा संलग्न ५२ जनलाई पक्राउ गरेर कार्वाही गरिएको प्रहरीले जनाएको छ । जसमध्ये २ जना महिला रहेका छन् ।

एक बर्षको अवधिमा प्रहरीले मधेसका ८ जिल्लाबाट २६ लाख ९२ हजार नेपाली नक्कली नोट फेला पारेको छ । भारतका विभिन्न शहरबाट प्रिन्ट गरेर नेपाल भित्र्याएको अवस्थामा प्रहरीले उक्त नक्कली नोट पक्राउ गरेको हो ।

बाराका प्रहरी उपरिक्षक होविन्द्र वोगटीका अनुसार घोडासन र सीतामढीमा नक्कली नोट छाप्ने मेशिननै राखेर नेपाल पठाउने गरेको सूचनाका आधारमा भारतीय प्रहरीको सहयोगमा मानिसलाई पक्राउ समेत गरेको बताए । उनले नेपाल प्रहरीले पक्राउ गरेको व्यक्तिलाई भारतीय प्रहरीको जिम्मा लगाएर छोडनु परेको जानकारी दिए ।

भारतमा रहेका अपराधी समूहले भारतीय भूमिमा वसेर नेपाली नोट उत्पादन गरी नेपाली बजारमा पठाउने गरेको सूचना नेपाल प्रहरीसँग भएपनि भारतीय प्रहरीले सहयोग नगरे सम्म यसको नेटर्वक तोडन नसकिनेमा नेपाल प्रहरी पुगेको देखिन्छ ।


सम्बन्धित समाचार