Logo

१६ भदौ,बारा । बाराको निजगढ नगरपालिकामा विभिन्न व्यक्ति र संघसंस्थाको ७ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएकी मनिला गौतम (निरु) लाई खोज्न प्रहरीले चासो नदेखाएको भन्दै पीडितहरुले गुनासो गरेका छन् ।

एक दर्जनभन्दा बढी सहकारी, लघुवित्त र व्यक्तिको रकम उठाएर फागुन ११ गते गौतम फरार भएकी थिइन् । उनको खोजी गरी आवश्यक कारबाहीका लागि पीडितहरुले गत असार २७ गते निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा सहकारी र लघुवित्त बाहेक पनि ४९ जना महिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । तर, ज्ञापनपत्र बुझाएको डेढ महिना बितिसक्दा पनि सरोकारवाला निकायले कुनै सहयोग नगरेको निजगढ नगरपालिका–५ की एक पीडित भक्तकुमारी राउतले बताइन् । उनले प्रहरी प्रशासनले आफूहरुलाई कुनै सहयोग नगरेको गुनासोसमेत गरिन् ।

निजगढ नगरपालिका– ९ की कल्पना खरेलले पनि प्रहरीले हालसम्म जाहेरी दर्तासमेत नगरेको बताइन् । करोडौँ रुपैयाँ उठाएर फरार भएकी मनिला गौतम हाल विदेशमा रहेको पीडितहरुले जनाएका छन् ।


सम्बन्धित समाचार