Logo

१६ भदौ,सप्तरी । डेढ वर्ष नपुग्दै सप्तरीका चार जना पालिका प्रमुख भ्रष्टाचार अभियोगमा निलम्बनमा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसमबन्धी मुद्दा दायर गरेपछि बोदेबर्साइन नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र विष्णुपुर गाउँपालिका प्रमुख निलम्बित भएका हुन् ।

अख्तियारले आर्थिक वर्ष ०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बोदेबर्साइन नगरपालिका—६ स्थित फुलकाहीमा संचालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रममा १४ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर भएसँगै नगर प्रमुख सिंहसहित आठै जनाको पद निलम्बनमा परेको छ । कामै नगरी भुक्तानी दाबी भएकोमा मेयर सिंह, वडा नं ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको पाइएको अख्तियारको दाबी छ ।

त्यसअघि गत भदौ ११ गते विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव पदबाट निलम्बित भएका थिए । गत साउन ३१ गते सोलारसम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्रकुमार यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको थियो । सो प्रकरणमा अध्यक्ष यादवको समेत संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताविरूद्ध अख्तियारले घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि फागुन १७ गतेदेखि निलम्बित भएका थिए । त्यसअघि राजविराज नगरपालिकाका मेयर भीमराज यादव निलम्बनमा परेका थिए । अख्तियारले ०७९ असार २९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।

यादवले मापदण्डविपरीत गरेको कामलाई गुणस्तरीय युक्त र मापदण्डअनुसार काम भएको प्रमाणित स्वीकृति गराई २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा काम गरेकोभन्दा बढी भुक्तानी लिएको भन्दै अख्तियारले मुद्दा दायर गरी कैद र जरिवाना माग गरेको छ ।


सम्बन्धित समाचार