Logo

१९ भदौ,वीरगञ्ज । सिर्सिया सुक्खा बन्दरगाह परिसरबाट चोरी भएका १० मध्ये ८ कन्टेनर फिर्ता भएको छ । २ वटा कन्टेनर भने श्री एयरलाइन्सले आकार परिमार्जन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिरहेको बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्याली स्रोतको दाबी छ ।

एयरलाइन्स व्यवस्थापनले आफूले दुवै कन्टेनर नेपाल सिपिङ एयर लजिष्टिक कम्पनीसँग खरिद गरेको र खरिदको आधिकारिक बिलबिजक समेत रहेको दाबी गरिरहेको ती अधिकारीको भनाइ छ ।

साउनको पहिलो दुई साताभित्र ती कन्टेनर विभिन्न पक्षलाई बिक्री गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रिष्टिन भ्याली प्रशासनले कन्टेनर चोरीको घटना जानकारी भए लगत्तै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिसकेको र प्रहरीले पनि घटनामा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

घटना सार्वजनिक भएपछि व्यवस्थापनले प्रिष्टिन भ्यालीका तत्कालीन कस्टम रिलेसनसिप म्यानेजर विक्रम सिंहसँग आवश्यक केरकार र आन्तरिक अनुसन्धान पनि सुरु गरेको थियो ।

लगत्तै भारतीय नागरिक सिंह फरार भएका थिए । उनी भारत नै भागेको अनुमान गरिएको छ । उनको बैंक खातामा पनि ठूलो रकम नभेटिएकाले कन्टेनर बेचेर आएको रकम लिएर भागेको अनुमान गरिएको छ ।

सिंहले फर्जी गेट पास बनाएर नेपाली निर्यातकर्तालाई निकासी प्रयोजनका लागि भन्दै कन्टेनर बन्दरगाहबाट बाहिर लगेर विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री गरेको पाइएको प्रिष्टिन भ्यालीका ती अधिकृतले बताए । ती मध्ये १÷२ कन्टेनर मात्र पुराना र बाँकी नयाँ छन् ।

फिर्ता भएका कन्टेनरहरु बाराको सिमरा, पोखरा, भरतपुर बिमानस्थल लगायत स्थानबाट आएको उनले बताए । सिंहले प्रतिकन्टेनर डेढ लाखदेखि १ लाख ८५ हजार रुपैयाँसम्म बिक्री गरेको पाइएको छ ।

प्रिष्टिन भ्याली प्रशासनले ३ महिनाको आफ्नो रेकर्ड हेर्दा १० वटा कन्टेनर हराएको एकीन भएको हो । बन्दरगाह नियमनकारी निकाय इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालय प्रमुख कमल ज्ञवालीले आफूले घटनाबारे जानकारी पाए लगत्तै बन्दरगाह सञ्चालक प्रिष्टिन भ्यालीसँग घटनाबारे पुरै जानकारी लिई समिति मुख्यालयलाई सूचित गरिएको बताए ।

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले घटनाबारे आफूले पनि जानकारी पाएको बताए । उनले भन्सार कार्यालयले मालवस्तु जाँचपास गरी आयात निर्यातमा सहजीकरणसम्मको काम गर्ने बताए । उनले बन्दरगाहको इतिहासमा पहिलो पटक कन्टेनर चोरीको घटना भएकाले आफूहरु पनि गम्भीर भएको बताए ।


सम्बन्धित समाचार