Logo

३ असोज,वीरगञ्ज । संविधान दिवसका अवसरमा वीरगञ्जका १७ जना सहित देशभरबाट ६ सय ७० जना कैदीबन्दी रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।

सोही अनुसार वीरगञ्ज कारागारमा रहेका १७ जना कैदीबन्दी सहित देशभरबाट ६ सय ७० जना कैदीबन्दी छुट्ने भएका हुन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिले कैद कट्टा गरी माफी मिनाह गरेका ६७० जना मध्य वीरगञ्जका १७ जना कैदीबन्दीहरु पनि छुट्ने भएका हुन् ।

१७ जना मध्य ३ जना महिला र १४ जना पुरुष कैदीबन्दीले कैद माफी मिनाह पाएको वीरगञ्जका कारागारका सूचना अधिकारी नवराज बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार २ जना ज्येष्ठ नागरिक, तीनजना महिला र ९ जना अन्य कैदीबन्दीहरु छुट्ने भएका हुन् ।

कैद मिनाह पाएका कैदीबन्दीहरु मध्य महिलाहरु कर्तव्य ज्यान मुद्दा र गर्भपतन मुद्दामा जेल परेका थिए । त्यस्तै अन्य पुरुषहरु चोरी, डाका, सवारी ज्यान, वन, कर्तव्यज्यान लगायतका मुद्दामा जेल परेकाहरु रहेको सूचना अधिकारी बर्तौलाले बताउनुभयो ।


सम्बन्धित समाचार