Logo

४ असोज,वीरगञ्ज । वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ । भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ ।

वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार नाकाबाटै प्रयोग गरी भइरहेको पाइएको हो । भदौ ३१ गते बरौनीबाट ना ४ ख ३१५६ नम्बरको ट्यांकरमा एक हजार ७ सय लिटर बढी तेल भएको भेटिएको छ ।

ट्यांकर चालकले २० केएल अर्थात् २० हजार लिटर पेट्रोल भएको भनी घोषणा गरेर तौल गर्न लगाएका थिए। तर, वीरगञ्ज भन्सार नाकामा तौलको क्रममा बढी इन्धन रहेको शंका लागेपछि बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा तौल गर्न भन्सारले पठाएको थियो ।

त्यहाँ तौल गर्दा ट्यांकरमा एक हजार ७ सय लिटर बढी पेट्रोल लोड रहेको पाइएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । भारतबाटै सिलबन्दी गरेर आउने ट्यांकरमा बढी इन्धन भएको भेटिएपछि ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको उनले बताए ।

सिलबन्दी गरेरै इन्धन आउने भए पनि कसरी इन्धन बढी ट्यांकरमा भरियो यसबारे अनुसन्धान भइरहेको ढकालले बताए ।


सम्बन्धित समाचार