Logo

फाइल तस्बिर

१२ असोज,वीरगञ्ज । वीरगञ्ज बाल सुधार गृहबाट आज विहान २ जना बाल कैदीबन्दीहरु फरार भएका छन् । वीरगञ्जको वीर्तास्थित बाल सुधार गृहबाट दुईजना बालबन्दी भागेको पर्सा प्रहरीले जनाएको छ ।
बालकैदीहरु आज बिहान करिब ४ बजेतिर छतबाट हाम फालेर भागेका पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनीहरुलाई आचरण सुधारका लागि बाल सुधार गृहमा राखिएको थियो । प्रहरी स्रोतका कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव रहेका छन् ।

अहिलेसम्म दुबै जना फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको पर्साका प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।
वीरगञ्ज बाल सुधार गृहमा १२६ जना बाल कैदीबन्दीहरु छन् । स्वदेशी १११ र विदेशी १५ जना गरी कुल १२६ बाल कैदीबन्दी रहेको बाल सुधार गृहले जनाएको छ। उनीहरुका लागि बाल सुधार गृहमा बाल कैदी बन्दीकालागि ९ वटा कोठा छन्, जसमा नै सबैजना बस्दै आइरहेका छन् ।

बाल सुधार गृहमा रहेका बालकैदीहरुको सुरक्षाका लागि पर्सा प्रहरीले प्रहरी सहायक निरीक्षक (असइ) को कमाण्डमा ९ जना प्रहरीलाई खटाएको छ । बाल सुधार गृहमा रहेको प्रहरीको काम नै हो–त्यहाँ रहेका बाल कैदीबन्दीहरुको निगरानी र सुरक्षा दिनु । तर यहाँ बाल सुधार गृहमा रहेको प्रहरी त्यसमा गम्भीर लापरबाही गरेको देखिन्छ ।

सुरक्षा र रेखदेखका लागि ड्यूटी खटाइएका प्रहरी कहाँ व्यस्त थियो ? छतबाट हाम फाल्दा पनि प्रहरी के गरिरहेको थियो ? अथाव प्रहरीकै मिलोमतोमा उनीहरु भागेका हुन जस्ता गम्भीर प्रश्न प्रहरीमाथि खडा भएको छ । कारण– छतबाट हाम फाल्दा पनि त्यही परिसरमै रहेको प्रहरी कसरी थाहा पाएन, यो नै गम्भीर प्रश्न बनेको छ ।

जनकारहरु भन्छन्–यो घटनामा त्यहाँ रहेको प्रहरी ‘बिट’को पूरै लापरबाहीका कारण बाल कैदीबन्दी फरार भएका छन् । उनीहरुको ठोकुवा छ–प्रहरीको अकर्मण्यता कारण नै बाल कैदीहरु फरार भएका हुन ।
बाल सुधार गृहका १२६ जना कैदीबन्दीका लागि ९ जना प्रहरी खटाइनु भनेको सरदर एउटा प्रहरीको भागमा १४ जना बाल कैदीबन्दी पर्नु हो ।

अर्थात् एउटा प्रहरीले बाल सुधार गृहका १४ जना बालकैदीबन्दीको रेखदेख र सुरक्षा गर्नुपर्छ । तर त्यो पनि गर्न नसक्दा प्रहरीको काम कर्तव्यमाथि प्रश्न तेर्सिएको छ ।
बाल सुधार गृहमा रहेको प्रहरी बिटको लापरबाहीका बारेमा छानबिन भइरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता थापा भन्छन्– कसको लापरबाहीले कैदीबन्दीहरु फरारा भएका हुन,त्यो छानबिन भइरहेको छ । अनुसन्धानमा जो पनि दोषी देखिए तिनलाई विभागीय कारबाही हुन्छ।’

भक्तपुरबाट ल्याईएका १८ जना बालकैदीहरुका कारणले तनाव भएको बाल सुधार गृहमा अहिले ती बालकैदीहरुलाई निकालिएपछि शान्त भएको थियो । सोही मौकामा दुईजना बालकैदीहरु भागेका हुन् । बालसुधार गृहका प्रमुख टिकाकृष्ण काफ्ले भने अहिले बाल सुधार गृहबाट निकालिएका बालकैदीहरुको व्यवस्थापनका लागि काठमाडौंमा रहनुभएको छ ।

 


सम्बन्धित समाचार