Logo

१९ असोज,वीरगञ्ज । बारा प्रहरीले विभिन्न पालिकाहरूमा सञ्चालित अवैध मदिरा भटी नष्ट गरेको छ। प्रहरीले बाराको पचरौता नगरपालिका, महागढीमाई, करैयामाई र आदर्शकोतवाल गाउँपालिकामा सञ्चालित अवैध मदिरा भटीहरू नष्ट गर्नुका साथै हजारौँ लिटर तयारी मदिरा र मदिरा बनाउने कच्चा पदार्थसमेत नष्ट गरेको हो।

यी चारवटै पालिकाहरू भरतसँग सीमाना जोडिएका पालिका हुन्।प्रहरीले बिहीबार महागढीमाई नगरपालिका– ३ र १० गञ्जभवानीपुरको नौ स्थानमा र करैयामाई गाउँपालिका ३ गालोपटीमा सञ्चालित मदिरा भटी नष्ट गरेको हो।

त्यहाँबाट प्रहरीले तयारी मदिरा पच्चिस सय लिटर र मदिरा बनाउने कच्चा पदार्थ ५४ हजार लिटर नष्ट गरेको हो। त्यस्तै, मदिरा राख्ने ड्रम १४ वटा, डेक्ची १ वटा, मदिरा तयार पार्ने मेसिन पाँच वटा पनि बरामद गरी नष्ट गरेको हो।

यस्तै, बुधबार पचरौता नगपालिका ८ छपकैयाको पाँच स्थान र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाको दुई स्थानमा प्रहरीले छापामारी अवैध मदिरा भट्टीहरू नष्ट गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। उक्त भट्टीहरूबाट मदिरा राख्ने ड्रम ७६ वटा, मेसिन ५ वटा बरामद गर्नुका साथै पाँच हजार तयारी मदिरा र चालिस हजार कच्चा पदार्थ नष्ट गरिएको न्यौपानेले बताए।

पछिल्लो समय अवैध बारास्थित भारतसित सीमा जोडिएका पालिकाहरूमा सञ्चालित अवैध मदिरा भट्टीहरूकै कारणले जिल्लामा अपराधिक घटनाहरू घटेका थिए।गत हप्ता बारामा भएको दुई वटा हत्याकाण्डमा सीमावर्ती पालिका र मदिराको पनि कनेक्शन देखिएपछि प्रहरीले त्यहाँ सञ्चालित भट्टीहरू नष्ट गर्न थालेको हो।

भारतको बिहारमा मदिरा बन्द भएका कारणले भारतीयहरू सीमावर्ती नेपालका पालिकाहरूमा आएर मदिरा सेवन गर्ने गरेका छन्।


सम्बन्धित समाचार