Logo

२० असोज,वीरगञ्ज । बाराको निजगढमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २० वर्षीय दिनेश चौधरी रहेका छन् ।निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै चौधरीको ज्यान गएको हो ।

मृतक चौधरी कोल्हबी नगरपालिका –३ जुगवा निवासी रहेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।बसले ठक्कर दिएपछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इ–रिक्सामा ठोक्किन पुगेको थियो ।

मोटरसाइकलले ठक्कर दिएपछि अनियन्त्रित भएको उक्त इ–रिक्सा प्र २–०३–००१ ह १०६६ नम्बरको अटोसँग ठोक्किएको थियो। रिक्साको ठक्करबाट अटो चालक निजगढ–१२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा–१६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् ।

घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक सिरहाका अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार