Logo

२१ असोज,वीरगञ्ज । पर्साको सखुवापर्सौनी गाउँपालिका वडा नं. २ श्रीपुरमा सम्पन्न आँखा शिविरमा ४४५ जनाको आँखा परीक्षण गरिएको छ ।

जसमध्ये १५८ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ ।नेपाल नेत्रज्योति सङ्घ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी–२ श्रीपुरमा एकदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।

मोतियाबिन्दु देखिएको सबै बिरामीहरूको नेपाल नेत्रज्योति सङ्घ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।
आर्थिक अभाव र पहुँचको कमिका कारण कोही पनि नागरिक आँखा चेकजाँच गराउनबाट वञ्चित नरहुन् भन्ने उद्देश्यले नेत्रज्योति सङ्घले विभिन्न स्वदेशी तथा दातृ निकायहरूसँगको सहकार्यमा देशैभरि वार्षिक हजारौँ निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत नेत्रज्योतीलाई शिविर सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुमार्फत नेपाली नागरिकहरूलाई सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।

सङ्घले हालसम्म नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड दुई लाख ८६ हजार पाँच जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको छ ।


सम्बन्धित समाचार