२३ असोज, वीरगञ्ज । सीमाक्षेत्रमा हुन सक्ने संभावित अपराधका घटना न्यूनीकरण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीको बैठक बर्दिवासमा सम्पन्न भएको छ ।
नेपालमा पछिल्लो समयमा सीमाक्षेत्रमा देखिएको धार्मिक सदभाव विथोल्ने कार्यमा संलग्नहरुको पहिचान गर्न र अपराध कार्यमा लाग्नेहरुले भारतीय भूमी प्रयोग गर्न सक्ने संभावित स्थितिका बारेमा दुवै देशका सुरक्षा अधिकारीवीच छलफल भएको छ ।
सीमा क्षेत्रमा हुने अवैध व्यापार र अपराध नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीवीच समन्वय र सहकार्य गर्ने सहमति भएको सशस्त्र प्रहरी बल छिन्नमस्त बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले बताए ।
बैठकमा सीमा अपराध, साम्प्रादायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन तथा दशगजा ईलाकामा कुनै किसिमको अतिक्रमण हुन नदिन दुवै देशका सुरक्षा अधिकारीवीच छलफल भएको थियो ।
त्यसैगरी बैठकले उग्र साम्प्रादायिक गतिविधि हुन नदिनको लागि आवश्यक सहयोग र सहकार्य गर्ने, नेपाली सवारी साधनहरुलाई सहज रुपमा आवागमन गर्नको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने, बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्नको लागि बिशेष सुरक्षा कार्वाहीका योजना संचालन गर्ने निर्णय गरेको छिन्नमस्ता बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक माधव प्रसाद पौडेलले बताए ।
सीमाक्षेत्रबाट हुने मानब ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न दुबै पक्षले अन्य सरोकारवाल संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्नुका साथै अवैध रुपमा सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रण गर्नको लागि सहकार्य गर्ने सहमति भएको एसएसपी पौडेलले जानकारी दिएका छन् ।
नजिकै आउदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेक्स स्थापना कार्यलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयमा छलफल भएको छ ।
सशस्त्र प्रहरी बल मधेस प्रदेशको छिन्नमस्ता बाहिनीको मुख्यालयमा भएको बैठकमा भारतीय सशस्त्र सीमा बल मुजफारपुर, बेतिया र पुर्निया सेक्टर हेडक्वाटरका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
नेपालको तर्फबाट मधेश प्रदेशको जिम्मेवारी भएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले नेतृत्व गर्नुभएको थियो भने भारतीय सीमा सुरक्षा बलको तर्फबाट मुजफारपुर सेक्टर हेडक्वाटरका प्रमुख (आइपिएस) दिपक कुमारले नेतृत्व गर्नुभएको थियो ।
बैठकमा बेतिया सेक्टर हेडक्वाटरका डिआइजी सुरेश सुबरमनियम र सिमावर्तित इलाकामा कार्यरत दुवै संगठनका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो र सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था बारेमा वाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक माधव प्रसाद पौडेलले जानकारी गराएका थिए ।


















