Logo

१७ कात्तिक, वीरगञ्ज । बारा कलैया ६ का रुपेश स्वर्णकार हत्याकाण्डमा नयाँ रहस्य खुलेको छ । हत्याको पाँच दिन पछाडि नयाँ रहस्यको उजागर भएको बारा प्रहरी स्रोतको भनाइ छ ।

हत्याकाण्डमा संलग्न रहेकाहरुसंग लिइएको प्रारम्भिक बयानमा प्रेमिका भनिएकी राधा गुप्ता र प्रेमी भनिएका मनोज गुप्ता नातेदार नै रहेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ ।

स्वर्णकार हत्यासंग सम्बन्धित विषयहरुमा राधा गुप्तासंग अनुसन्धान चलिरहँदा दुबै जनाको सम्बन्धबारे प्रहरी समक्ष नयाँ तथ्य उजागर भएको बताइन्छ ।
प्रहरी नियन्त्रणमा रहेका राधा गुप्तासंग लिइएको बयानमा उनले मनोज आफ्नो ‘क्लोज’ नाताको व्यक्ति रहेको जानकारी दिएकी छन् ।

राधाले प्रहरी समक्ष गरेको बयानमा मनोज आफ्नो फूपूको छोरा रहेको बताएकी छन् । उनका अनुसार मनोज विहारको छौडादानो निवासी हुन ।
परिवारभित्रकै सम्बन्ध रहेको हुनाले मनोजको घरमा आउजाउ भइरहन्थ्यो ।

त्यहीक्रममा हाम्रो सम्बन्ध पनि गहिरो हुँदै गयो,पछि प्रेममा परियो,’ उनको बयान छ ।
प्रहरीमा उनको बयान छ–मनोजसंग प्रेममा रहेकै बेला म बोर्डिङ स्कुलमा काम गर्न थाले, त्यो भने बैशाखको २८ तिरदेखि होला। यहीबीचमा रुपेशसंग पनि हिमचिम बढ्यो ।

त्यो हिमचिमले अलि ‘क्लोज’ नै भयौं, जुन कुरामा मनोजले पनि थाहा पायो।’ उनका अनुसार यो कुरा मनोजलाई भने मन परिरहेको थिएन ।
उनले भनेकी छन्,‘रुपेशको र मेरोबीचको च्याट पनि भइरन्थ्यो, त्यो मनोज पनि थाहा पाइरहनथ्यो । यही झोकमा मनोजले मसंग समेत विवाद गथ्र्यो ।’

रेसखबरसंग प्रहरी अधिकारीको भएको कुराकानी ती अधिकारीले भने,‘अझै केही कुराहरु राधाले बयान गरेकी छन्, अहिले त्यसलाई आधार बनाएर अनुसन्धान चलिरहेको छ । त्यसकारण योबाहेक अरु म बोल्दिन ।’

स्वर्णकार हत्याकाण्डको आज ५ दिन बितिसक्दा पनि अहिलेसम्म मुख्य अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । अहिलेसम्म मुख्य सुटरको खोजी कार्य जारी रहेको बारा प्रहरी बताउँदै आइरहेको छ । मुख्य अभियुक्त पक्राउ नपर्दा बारा प्रहरीको धेरै आलोचना समेत भइरहेको देखिन्छ ।

यही सोमबार बारा कलैयाको मदरसा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते भएका स्वर्णकारको उपचारको क्रममा बीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको थियो ।स्वर्णकार बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक थिए ।

 


सम्बन्धित समाचार