Logo

२१ कात्तिक,काठमाण्डौ । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ ।

समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो । निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूलखेती गरिएको छ । यसबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उहाँको भनाइ छ ।

छिमेकी जिल्लाबाटसमेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उहाँको भनाइ छ । साथै भारतबाटसमेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्पविकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उहाँले बताउनुभयो ।

सङ्घका सचिव सुलभ श्रेष्ठले गतवर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूलखेती गरिएकोमा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिनुभयो । व्यावसायिक रुपमा खेती गर्ने किसान आठजना रहेकोमा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उहाँको भनाइ छ ।

प्लास्टिकजन्य फूलमालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्व लक्षित गर्दै भरतपुर महानगरपालिका–२३ मा २० बिघामा फूलखेती गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाभित्र सो क्षेत्रफलमा फूलखेती गरिएको हो ।

सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार विगतका वर्षमा तरकारी खेती गरिएका ठाउँमासमेत अहिले फूलखेती गरिएको हो । कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूलखेतीमा युवा परिचालन गरी समूह बनाइ काम गरिएको उहाँले बताउनुभयो । रासस


सम्बन्धित समाचार