२५कात्तिक,सेढवा । पर्सामा सम्पन्न ७ औ परसवा गोल्डकपको उपाधी निचुटाले हात पारेको छ । जिराभवानी गाउपालिका वडा नं ३ मा आयोजित गोल्डकपमा आज भएको फाइनल खेलमा निचुटाले जय हिन्द एभरेष्ट क्लब इनरवा भारतलाई शून्यको विरुद्ध १ गोलले पराजित गरी उपाधि हात पारेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा कुनै टिमले गोल गर्न सकेका थिए । दुईतिरैबाट गोल गर्नका लागि निकै आक्रमक प्रयास गरिएपनि गोल हुन नसकेको हो । दोस्रो हाफको २६ औ मिनेटमा निचुटाका जर्सी नं १० बिबेक चौधरीले निर्णायक गोल गर्दै टिमलाई जिताएका हुन् ।
आजको अन्तिम तथा फाइनल खेलमा निचुटाका सागर चौधरी म्यान अफ दि म्याच घोेषित भए । न्यू एभरेष्ट क्लब परसवाद्वारा आयोजित प्रतियोगितामा आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीको सभापतित्वमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिराभवानीका अध्यक्ष अनोज चौधरीले प्रतियोगिता बिजेता टोली निचुटा युथ क्लवलाई नगद ३ लाख २५ हजारको चेक र ट्रफी बितरण गर्नुभयो । त्यस्तै प्रतियोगिताको उपबिजेता टिम जय हिन्द एभरेष्ट क्लब इनरवा भारतलाई ट्रफी र नगद एक लाख पचास हजार रकमले पुरस्कृत गरिएको छ ।
प्रतियोगिताको म्यान अफ दि सिरिज जय हिन्द एभरेष्ट क्लब इनरवाको जर्सी नं १० का लियो घोषित भएका छन् । लियोलाई चाँदीको बल प्रदान गरिएको छ । त्यस्तै बेष्ट स्कोररतर्फ निचुटाका जर्सी नं ७ का सागर चौधरी घोषित भएका छन् । उनलाई चाँदीको बुटले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।


















