Logo

२५ कात्तिक,वीरगञ्ज । त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको उपाधी उचालेको छ । आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक विभागीय फाइनल भिडन्तको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार फितलो बन्न पुग्दा पुलिसले सिजनकै पहिलो उपाधी उचाल्न सफल भएको हो ।

टाइब्रेकरमा पुलिसका लागि रामचन्द्र वाजी र बुद्ध तामाङले गोल गर्दा हुचोल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । यता आर्मीका कप्तान नवयुग श्रेष्ठ, बिमल पाण्डे, सन्तोष केसी र जितेन्द्र कार्कीको प्रहारले जाली चुम्न सकेन ।

कप्तान श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा कार्कीको प्रहार पोस्टमा ठोक्किन पुगेको थियो । यसैगरी पाण्डे र केसीको प्रहारलाई बिफल तुल्याउदै पुलिसका गोलरक्षक शत्रुधन चौधरीले टिमलाई उपाधी दिलाए ।

उपाधी विजेता पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ र उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । यो राशि मधेस प्रदेशमा आयोजना हुने प्रतियोगितामध्येको उच्च हो ।

वीरगञ्ज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटि क्लब वीरगञ्जको आयोजनामा कार्तिक १८ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहेको थियो । प्रथम वीरगञ्ज गोल्डकपको उपाधी विजेता नेपाल पुलिस क्लबले सबै भन्दा बढि विद्यागत पुरस्कार जितेको छ ।
प्रतियोगीताको म्यान आफ द सिरिज नेपाल पुलिस क्लबका जर्सी नम्बर ८ का खेलाडी प्रताप गुरुङ्गले पाएका छन । उनले नगद ५० हजार , प्रमाणपत्र र शिल्ड पाए ।
भने म्यान अफ दि म्याच र उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबका जर्सी नम्बर १ का गोलकिपर शत्रुघन चौधरीले पाए । उनले म्यान अफ दि म्याचको १० हजार र उत्कृष्ट गोल किपर बापत नगद २० हजार पाएका थिए ।
यस्तै प्रतियोगीता भरीको बेस्ट मिडफिल्ड नेपाल पुलिस क्लबका जर्सी नम्बर १६ का खेलाडी उज्जवल राई भए । उनले नगद २० हजार पाएका हुन ।
उत्कृष्ट डिफेन्स त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर २९ का बिमल पाण्डेले पाएका थिए । उनले नगद २० हजार पाएका थिए ।
यस्तै प्रतियोगीताको उत्कृष्ट कोच नेपाल पुलिस क्लबका बिमल घिमिरेले बने । उनले नगद २० हजार प्राप्त गरे ।


सम्बन्धित समाचार