![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/rabi-2.jpg?fit=1024%2C768&ssl=1)
२७ कात्तिक,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुने तर्क राखेका छन् ।
टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि आफ्नो धारणा राख्दै लामिछानेले सामाजिक सञ्जाललाई बन्द नगरेर नियमन गर्नुपर्ने बताएका हुन् । उनले अराजकता अभिव्यक्तिमा हुन सक्ने र माध्यमको दोष नरहेको तर्क गरेका छन् ।
“सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौँ युजर र कन्टेन्ट खराब छन् ।
तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिकरूपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टलमा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ ।
के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ?
यो निर्णय गर्ने सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान् ।
के अब पार्टी नै बन्द गरिदिने हो त ?
मूलधारले ढोका बन्द गरेका कयौँ प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौँ अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे । आजको युगमा सोसियल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो,” उनले भनेका छन् ।
लामिछानेले सत्तारूढ दलकै नेताहरूले आलोचना गरिरहेको विषयमा पनि प्रश्न उठाएका छन् । “सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?,” रविले भनेका छन् ।