Logo

भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलियालाई भारतले २४१ रनको चुनौती दिएको छ।

गुजरातको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अस्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले पूरै ५० ओभरमा पूरै विकेट गुमाउँदै २४० रन बनाएको हो।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धसतक पूरा गर्दा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। रोहितले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। विराटले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे। जारी विश्वकपमा उनको यो छैटौं अर्धसतक हो। उनले तीन सतक प्रहार गरे।

यो विश्वकपमा विराटले सर्वाधिक रन जोडेका छन्। उनले ११ खेलमा ७६५ रन जोडेका हुन्।

लगातार विकेट पतन हुँदा भारतलाई सम्हाल्ने प्रयास गरेका केएल राहुलले १०७ बलको सामना गर्दा मात्रै एक चौकाको मद्दतमा ६६ रन जोडे। यी बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शुबमन गिल र श्रेयस ऐयर समान चार रन जोड्दा पेबेलियन फर्किए। रबिन्द्र जडेजा पनि क्रिजमा लामो समय टिक्न सकेनन्। २२ बलको सामना गरेका जडेजा मात्रै ९ रनमा क्याचआउट हुन पुगे।

मोहम्मद शामीले ६ रन जोड्दा जसप्रित बुम्राह १ रनमै एलबीडब्ल्यु धरापमा परे।

सूर्यकुमार यादव १८ रनमा विकेटकिपरकै हातबाट आउट हुँदा। कुल्दिप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे।

अस्ट्रेलियाका लागि मिचेल स्ट्राकले ३ विकेट लिए। पूरै १० ओभर बलिङ गरेका मिचेलले ५५ रन खर्चिए। भारतका गिल, केएल राहुल र मोहम्मद शामी मिचेलको बलमा क्याचआउट भएका थिए।

एडम जाम्पाले जसप्रित बुम्राहको विकेट लिएसँगै सर्वाधिक विकेटमा भारतका शामीसँग बराबरी गरे। उनीहरुले समान २३ विकेट लिएका छन्। तर अब दोस्रो इनिङमा शामीले विकेट लिए उनीनै सर्वाधिक विकेट लिने बलर बन्नेछन्।

जोश हजलवुड र प्याट कुमिन्सले समान २ विकेट हात पारे। रविन्द्र जडेजा र सूर्यकुमार यादव हजलवुडको बलमा विकेटकिपरको हातबाट क्याचआउट भए। विराट कोहलीलाई बोल्ड गरेका कुमिन्सले श्रेयस ऐयरलाई विकेटकिपरको हातबाट क्याचआउट गराए। ग्लेन म्याक्सवेलले भारतीय कप्तान रोहित शर्मालाई पेबेलियन फर्काए।

भारत र अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा दोस्रो पटक भिडेका हुन्। यसअघि २००३ मा अस्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेको थियो। ३६० रनको लक्ष्य पछ्याएको भारत त्यतिबेला २३४ रनमा समेटिएको थियो।


सम्बन्धित समाचार