Logo

१३ मंसिर,वीरगञ्ज । बारा कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याकाण्डको आज ठिक एक महिना पूरा भएको छ । बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारमाथि कलैया ६ को मदरसा टोलमा गोली प्रहार भएको थियो ।

कार्तिक १३ गते स्वर्णकारमाथि भएको गोली प्रहारबाट उपचारको क्रममा बीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको थियो ।स्वर्णकारको हत्या भएको केही घण्टा नबित्दै बारा प्रहरीले घटनामा सहयोगी भूमिकामा रहेका ५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पाँचै जनासंगको प्रहरीले गरेको सोधखोज पश्चात अनुसन्धान अन्तिम निचोडमा रहेको भन्दै बारा प्रहरीले हत्याको तेस्रो दिनमा पत्रकार सम्मेलन गरेर पाँचै जना सहयोगीहरु सार्वजनिक गर्‍यो ।

र, भन्यो–यी पाँच जनाहरु हत्यामा सहयोगी भूमिका निर्वाह गरेका थिए, बाँकी मुख्य योजनाकार र मुख्य सुटरको खोजी भइरहेको छ ।
प्रहरी त्यो बेला सबै मुख्य दोषीको पहिचान भइसकेको भन्दै मुख्य योजनाकारमा मनोज गुप्ता र मुख्य सुटरहरुमा मोतिहारी दर्पा थानाका सुजितकुमार सिंह, चन्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनीको नाम सार्वजनिक गरेको थियो ।

बारा प्रहरी प्रमुख सुरेश काफ्लेले पत्रकार सम्मेलनमार्फत यी पाँचै नाम सार्वजनिक गर्दै चाँडो भन्दा चाँडो सबैलाई पक्राउ गर्ने तयारी रहेको ठोकुवा गरेका थिए ।
तर बाराका एसपी काफ्लेले यो ठोकुवा गरेको पनि एक महिना पुग्यो, अनुसन्धानमा भने अहिलेसम्म शुन्य प्रगती भएको बारा प्रहरी स्रोतको दाबी छ ।

किनभने, स्वर्णकार हत्याकाण्डमा न त प्रहरीले आफै सार्वजनिक गरेको मुख्य सुटरहरुलाई पक्राउ गरेको छ नत मुख्य योजनाकारलाई ।
बारा प्रहरीबाट भइरहेको छ त –केवल पक्राउ परेकाहरुको म्याद थप र सामान्य अनुसन्धान ।

यो बाहेक अहिलेसम्म सार्वजनिक भएका ती सबै नामहरु प्रहरीको ‘मोस्ट वान्टेड’ को सूचीमा नै दर्ज छ । अर्थात् सबै मुख्य अपराधीहरुको अझ खोजी कार्य जारी नै रहेको छ ।

प्रहरीको सर्वत्र आलोचना

स्वर्णकार हत्याकाण्डको तेस्रो दिनमै पत्रकार सम्मेलन गरेर हत्याको अनुसन्धान सकिएको दाबी गर्ने बारा प्रहरीले अहिलेसम्म मुख्य योजनाकार र सुटरलाई पक्राउ नगर्दा त्यहाँको प्रहरी नेतृत्वको आलोचना मात्रै भइरहेको छैन, बाराको यही ‘बालक’ एसपीका कारण जघन्य प्रकृतिको अपराधमा खेलाँची भइरहेको सर्वत्र चर्चा छ ।

नहोस पनि कसरी, एसपी काफ्लेले आफै हतारहतारमा अनुसन्धान निचोड नजिक रहेको भन्दै बिना सबुत प्रमाण पत्रकार सम्मेलन गरे, अनि भने–चाँडै मुख्य सुटरलाई पनि सार्वजनिक गरिनेछ ।

एसपी काफ्लेले गरेका यी दुइवटै काममा उनी असफल साबित भए । किनभने, पक्राउ परेकाहरुको अहिलेसम्म हत्याकाण्डमा संलग्नताको रहेको कुनै ठोस आधार वा प्रमाण सार्वजनिक गर्न सकेका छैनन् ।

यता दोस्रो ठोकुवामा त झन् उनी असफल भएको प्रमाणित भए । त्यो भनेको के हो भने एसपी काफ्लेले मुख्य सुटर भनिएको अपराधीहरुको पहिचान भइसकेको भन्दै ४ जनाको नाम नै सार्वजनिक गरेका थिए, जसमध्ये एकजना त खुलेआम एसपीलाई नै चुनौती दिए ।

तैपनि अहिलेसम्म उनलाई बारा प्रहरीले पक्राउ गर्न सकेको छैन ।
मुख्यतः यी दुई कारणले नै बारा एसपी मात्रै नभइ, नेपाल प्रहरीको नै समग्रमा आलोचना भइरहेको छ । जसका कारण प्रहरीमाथिको विश्वास नरहेको भन्दै बारामा दिनहुँ प्रदर्शन पनि भइरहेका छन् ।

कसको पावरले एसपी काफ्ले गर्दैछन् लापरबाही ?

बाराका एसपी काफ्लेको पहुँच गृहमन्त्री नारायणकाजी श्रेष्ठसंमक्ष रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठका नजिक मानिने रामेछापका एक नेतासंगको एसपी काफ्लेको हिमचिम छ ।

त्यहीँ हिमचिमका कारण गृहमन्त्रीको सिफारिसमा नै एसपी काफ्ले बारा जिल्ला सरुवा भए । यसरी गृहमन्त्रीसंग नै प्रत्यक्ष सम्बन्ध भएपछि उनलाई कसैले छुने कुरै भएन ।
यही मौकाको फाइदा उठाउँदै एसपी काफ्ले आफ्नो मनपरी गर्ने गरेको प्रहरीवृतमा चियो चर्चो हुन्छ ।

गृहमन्त्री नजिकका रामेछापका ती नेताले एसपी काफ्लेलाई दिने ढाडसका कारण नै उनीलाई जति गल्ती गरेपनि कुनै विभागी कारबाही हुँदैन् ।
प्रहरी स्रोतका उनलाई सम्झाउनुको साटो अरु कुनै विकल्प पनि छैन , आइजीपी साब पनि लाचार छन् ।

प्रहरी स्रोत भन्छ– ‘नत्रभने स्वर्णकार हत्याकाण्डमा नेतृत्वले जसरी गल्ती गरेको छ, त्यो नै काफी छ कारबाहीको लागि । तर उनलाई अहिलेसम्म गरिएको छैन, किनभने ठूलो शक्तिको साथ छ उनलाई ।’

किन उठ्दैन बारा प्रहरीको अफिसियन नम्बर ?

स्वर्णकार हत्याकाण्डको एक महिना भयो । हत्या भएलगत्तै प्रहरी गम्भीर बन्दै अनुसन्धानमा जुट्यो । तर अनुसन्धान अहिलेसम्म जारी नै छ ।

यो विषयमा कति प्रगती भयो भनेर बारा प्रहरी प्रमुख र प्रवक्तासंग प्रतिक्रिया लिन खोज्दा दुबै जना सम्पर्कमा आउन चाहेनन् ।

बारा एसपीको कार्यालयको नम्बर ९८५५००५५५५ र डिएसपीको ९८५५०४५६७६६ नम्बरमा बारम्बार सम्पर्क गर्दा दुबैजनाको फोन उठेन् । अर्थात् यी दुबै फोनहरु प्रायः नउठने गरेको सञ्चारकर्मीहरुको गुनासो छ ।

 


सम्बन्धित समाचार