१४ मंसिर,वीरगञ्ज । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।