Logo

१६ मंसिर,वीरगञ्ज । देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले १५ बुँदे घोषणापत्र जारी गरेको छ ।

संकुचित अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले १५ बुँदे घोषणा पत्र जारी गरेको हो ।
महासंघ मधेस प्रदेशले सम्बन्धित हरेक निकायहरुसँग छलफल गरेपछि १५ बुँदे घोषणा पत्र जारी गरेको मधेस प्रदेश अध्यक्ष अशोक टेमानीले बताए ।

उनका अनुसार पछिल्लो समय उद्योग व्यावसायमा देखिएको समस्या समाधानका लागि महासंघका मधेस प्रदेशले अगुवाइ गर्दै यस विषयमा दुई दिन काठमाडौंमा समेत राय,विमर्श गरेको थियो ।

सम्बन्धित सबै व्यक्तिसंग भएको छलफलपछि मधेसको उद्योग व्यवासाय चलायमान बनाउनका लागि १५ बुँदे घोषणापत्र जारी भएको मधेस प्रदेश अध्यक्ष टेमानी बताउँछन् ।

केके छ घोषणापत्रमा ?

महासंघले जारी गरेको घोषणपत्रमा बारा पर्सामा औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्ने, निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अबिलम्ब अगाडि बढाउनुपर्ने, जलेश्वर भंसार कार्यालयको स्तरोन्नति गरी त्यहाँबाट समुन्द्रपारीका मालसमान आवतजावत गर्ने ब्यवस्था मिलाउनुपर्ने सुझाव दिइएको छ ।

यसैगरी ढल्केवार–सितामढी प्रसाराण लाइनलाई ५०० केभीए सम्म यथासम्भव सिघ्र विस्तार गर्नुपर्ने माग गरिएको छ भने सिमरा एअरपोर्टको क्षमता विस्तार, जनकपुर जयनगर रेलसेवालाई विस्तार गर्नुपर्ने भनिएको छ ।

योसंगै मधेश प्रदेशमा राजस्व न्यायाधिकरणको स्थापना, अन्तराष्ट्रिय स्तरको सार्वजनिक निजी साझेदारीमा प्राविधिक इन्स्टीच्युट स्थापना गर्ने, निर्माणाधिन रहेको हुलाकी सडकमार्गको निर्माण कार्य ‘फास्ट ट्रयाक’ सम्पन्न गर्न पनि माग गरिएको छ ।

त्यसैगरी, भारतीय पर्यटकहरुलाई नगद भारतीय रुपैया बोकेर नेपालमा प्रवेश गर्न समस्या भएकोले भारतीय सिमानासित जोडिएका प्रत्येक भंसार कार्यालयहरुमा भारतबाट आउने यात्रुहरुको लागि सटही काउन्टरको व्यावस्था गरिनुपर्ने, समग्र मधेश प्रदेशमा अन्तराष्ट्रिय स्तरको सुबिधा सम्पन्न कृषि नगरकै स्थापना गर्ने, मधेसमा सौर्य उर्जा विजुली उत्पादन केन्द्रको स्थापना गर्न घोषणापत्रमा उल्लेख गरिएको छ ।

श्रमिक अस्पतालको स्थापना, अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हलको निर्माण गरिनु पर्ने, मुख्य भन्सार नाकामा सार्वजनिक निजी साझेदारीमा अन्तरास्ट्रिय स्तरको खाद्य परिक्षण ल्याबको स्थापना गरिनुपर्ने समेत माग गरिएको छ ।

 


सम्बन्धित समाचार