Logo

२० मंसिर,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेलको शेयर खरिद बिक्री रोकेर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो ।

एनसेलको कारोबार अपारदर्शी र संसयपूर्ण रहेकाले अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिदबिक्री रोक्नेर अनुसन्धान गर्नुपर्ने समितिको ठहर छ । एनसेलका विषयमा ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गरी जानकारी गराउन सरकारलाई निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

त्यसअघि बैठकमा कम्पनी रजिस्टारको कार्यालयका रजिस्ट्रार दीपककुमार पहाडीले एनसेलको ८० प्रतिशत शेयर अर्को कम्पनीलाई हस्तान्तरण भएकोसम्बन्धी कुनै कागजात कम्पनी रजिष्ट्रार कार्यालयमा पेस नगरेको बताए । उनले यसअघि पनि एनसेल खरिद बिक्रिका क्रममा रजिष्ट्रार कार्यालयमा अद्यावधिक गरेको नदेखिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले एनसेलको शेयर खरिद बिक्रि प्रकरण देशको हित विपरित देखिएकाले तत्काल प्रक्रिया रोक्न निर्देशन दिनुपर्ने धारणा राखेका थिए ।

समिति सदस्य अर्जुन नरसिंह केसीले एनसेल प्रकरणमा उच्चस्तरीय न्यायीक छानविन हुनुपर्ने बताए । एनसेलले बिक्री गरेको शेयर नेपाल सरकार आफैले किन्नुपर्ने प्रस्ताव उनले राखे ।

त्यस्तै समिति सदस्य योगेश भट्टराईले एनसेल प्रकरण सामान्य नभएको भन्दै प्रधानमन्त्रीले समितिमा जवाफ दिनुपर्ने बताए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका लागि आयोग गठन गर्नुपर्ने सुझाव दिए । एनसेल खरिद–बिक्रीले राज्यलाई घाटा हुने भएपनि राज्यको कुनै निकायले चासो नदिइएको उनले बताए ।

त्यस्तै समिति बैठकले एनसेलका विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय गरेको छ


सम्बन्धित समाचार