Logo

२३ मंसिर,वीरगञ्ज । पर्साको बिन्दबासीनी कोईलाभार बडनिहार साझेदारी वनको अध्यक्षमा महमद रिजवानुल हक विजयी हुनुभएको छ । उहाँले १३८ मत ल्याई अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्दी मनोज प्रसाद यादव ११९ मत ल्याउनुभएको छ । अर्का अध्यक्ष पदका दाबेदार अम्बिका सहनी मलाहाले जम्मा १ मत पाउनु भएको छ ।

१३ सदस्यको लागि २० जनाको उम्मेदवारी परेको थियो । दुई सय ८० जना मतदाता सङख्या रहेकोमा २ सय ६२ मत खसेको निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिनुभयो ।

सदस्यहरूमा प्रेमचन्द्र कोइरी, रामबाबूप्रसाद कोइरी, जीतेन्द्र मिश्र, रामा खाँ थारू, विन्देश्वर चौरसिया, मनक कुर्मी, अशोक तेली, सोमबहादुर स्याङ्तान, उपनेश चौरसिया, मनोज रायभर, लीला विक, नीलम देवी र हिरमुनीदेवी साह विजयी भएका छन् ।

गत असार २९ गते उद्घाटन सत्र चल्दै गर्दा उच्च अदालतले साउन ४ गते सम्मको लागि निर्वाचन स्थगित गरेको थियो ।

सोही कारण अस्तीको निर्वाचन हिजो सम्पन्न भएको हो । अध्यक्षमा निर्वाचित रिजवानुल र मनोज दुवैजना नेपाली कांग्रेस निकटका हुन् । यादव कांग्रेसका प्रभावशाली नेता रमेश रिजाल र जिल्ला सभापति जनार्दन सिंह क्षेत्री पक्षका हुन् भने रिवानुल हक केन्द्रीय सदस्य अजय चौरसिया र श्याम पटेल पक्षका हुन् ।

दुवै उम्मेदवार कांग्रेसकै भएपनि कांग्रेसका दुईधारले अलग अलग उम्मेदवार बनाएपछि प्रतिष्ठाको विषय बनेको थियो । रमेश रिजाल र जनार्दन सिंह क्षेत्रीले उम्मेदवार बनाएको यादवलाई नेकपा एमालेका राजकुमार गुप्ता र जनता समाजवादी पार्टीले पनि समर्थन गरेको थियो । त्यस्तै रिजवानुललाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको थियो ।


सम्बन्धित समाचार