Logo

२६ मंसिर, जनकपुर । जनकपुरधाममा आजदेखि साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ ।

त्रेतायुगमा सीता र भगवान् रामको वैदिक विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा भएको स्मरण गर्दै प्रत्येक वर्ष झैँ यस वर्षपनि मंसिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ ।

सीताराम विवाहपञ्चमी महामहोत्सवको पहिलो दिन आज जानकी मन्दिर परिसरमै जनकपुरधाम नगरको नगर दर्शन भइरहेको छ । गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएअनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर सीताको विवाह उनीसँग भएको थियो ।

यस वर्ष मंसिर २६ देखि पुस २ गतेसम्म मनाइने सीतारमा विवाह पञ्चमी महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरी साजसजासँगै विधिवतरुपमा आज जनकपुरधामको नगर दर्शन भइरहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

अयोध्या नरेश दशरथको रुपमा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा भगवान् रामको प्रतिमालाई विशेष सिंहासनमा राखिन्छ भने जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई सिंगारिएर डोलामा राखेर रंगभुमि मैदानमा स्वयम्बर गराइन्छ ।

सीताको डोलाले पाँचपटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयम्बर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज जानकी मन्दिर परिसरमा बालबालिकालाई राम र लक्ष्मणको रुपमा घुमाएर नगर दर्शन गराइदैँछ ।

त्यस्तै बुधबार फूलबारी लिला, बिहीबार धनुष यज्ञ, शुक्रबार तीलकोत्सव, शनिबार मटकोर, आइतबार पुस १ गते सीतारामको स्वयम्बर तथा विवाह कार्यक्रम हुनेछ । भने सोमबार रामकलेवासँगै जन्तीको विदाई हुनेछ । यससँगै साधुसन्तको विदाइ गरेपछि सीताराम विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।


सम्बन्धित समाचार
भर्खरै