Logo

२७ मंसिर,जनकपुर । चुरे वन क्षेत्रमा उत्खनन् गर्न आदेश दिएका सिरहाका दुई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमाथि अनुसन्धान सुरु भएको छ ।

चुरे वन क्षेत्रमा पर्ने खुट्टी खोला र सारेर खोला गैर कानूनी रुपमा ठेक्का लगाउने र उत्खनन् गर्न इजाजत दिने दुई वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुमाथि अनुसन्धान सुरु भएको सिरहाका डिभिजनल वन अधिकृत सुजित कुमार झाले जनाएका छन् ।

डिभिजनल वन अधिकृत झाले धनगढीमाई नगरपालिका र लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु ओम प्रकाश महतो र राजु प्रसाद साहमाथि अनुसन्धान भईरहेको बताए ।

चुरे पर्वत र वन क्षेत्रको नदीनालाबाट गैरकानुनी ढंगले माटो, गिट्टी, बालुवा, ग्राभेल र ढुंगा जस्ता प्राकृतिक श्रोत उत्खनन् गर्ने विरुद्ध डिभिजनल वन कार्यालय लहानले कारवाही प्रक्रिया अघि बढाएको छ ।

मंसिर १४ गते लहान नगरपालिका वडा नम्बर १५ र वडा नम्बर २४ स्थित ढोढना क्षेत्रमा रहेको नदीको खुट्टी खोलाबाट गैरकानुनी ढंगले उत्खनन् गरिरहेको अवस्थामा डिभिजनल वन कार्यालय लहानको गस्ती टोलीले चालक सहित २ वटा स्काभेटरलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ ।

पक्राउ पर्नेमा चाइना इष्ट वेष्ट रेल्वे कम्पनीका साइट इन्चार्ज हु स्याउ छ्यांग सहित अन्य एक चिनिया नागरिक तथा विन्देश्वर कुमार महतो र अजय कुमार चौधरीसहित दुई नेपाली नागरिकको समेत छन् ।

पक्राउ गरिएकाहरुलाई सिरहा जिल्ला अदालतको आदेशानुसार मंसिर २५ गते चिनियाँ नागरिकलाई ३ लाख रुपैयाँ र नेपाली नागरिकलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । चीनियाँ कम्पनीको अन ड्युटीमा रहेको दुई थान स्काभेटर डिभिजनल वन कार्यालयले नियन्त्रणमा राखेको छ ।

त्यस्तै मंसिर १५ गते धनगढीमाई नगरपालिका अन्तर्गत रहेको सर्रे खोलाको वन क्षेत्रबाट नियन्त्रणमा लिएको ८ थान ट्रयाक्टर र एक थान स्काभेटर (जेसिबी) इलाका वन कार्यालय धनगढीको नियन्त्रणमा राखेको जनाएको छ ।

ट्रयाक्टर र स्काभेटर चलाउने ८ जना चालकहरु डिभिजनल वन कार्यालय लहानको हिरासतमा छन् । आरोपितहरुलाई वन क्षेत्रबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा हिरासतमा लिई अनुसन्धान गरी रहेको डिभिजनल वन अधिकृत झाले बताए ।

धनगढीमाई नगरपालिका वडा नम्बर ९ बस्ने मञ्जित यादव, वडा नम्बर ४ बस्ने रामकुमार यादव, सोही ठाउँको वडा नम्बर १२ बस्ने पुरुषोत्तम यादव, रमण किशोर यादव, अरविन्द कुमार यादव, इन्द्रजित महतो, बरियारपट्टी– २ बस्ने सन्दीप कुमार महतो र नरहा– २ का फूल कुमार यादवलाई वनको हिरसातमा छन् । पक्राउ परेका आरोपितहरुमाथि अनुसन्धान चलिरहेको डिभिजनल वन अधिकृत झाले बताए ।


सम्बन्धित समाचार