२९मंसिर,वीरगञ्ज । प्रहरीले सुनसहित हेटौँडाबाट २ जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका(१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनसहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिंह रहेका छन्।
रातोमाटे चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४५० ग्रामको सुनको सिक्री ९ थानसहित पक्राउ गरिएको हो।
यस्तै, ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।