Logo

१८ पुस,वीरगञ्ज । बारामा प्रहरीले सात समुन्द्र पारीबाट पार्सल गरी पठाइएको लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अमेरिकाबाट आएको पार्सलबाट लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । गोप्य ठाउँमा डिलेभरी हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई हुलाक कार्यालय बाराबाट पक्राउ गरेको हो ।

प्रहरीको टोलीले गएको सोमवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १ सिसवावारी बस्ने नैमोदिन मियाँ, सोही ठाउँ बस्ने जितेन्द्र साह सोनार र कृष्णा सर्राफलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ५ प्याकेट गाँजा बरामद भएको बारा प्रहरीले जनाएको छ । पार्सलको गाँजा बुझेर लैजादै गरेको अवस्थामा उनीहरुलाई जिल्ला हुलाक कार्यालय बारा परिसरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पपक्रोन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र ३ प्याकेट, वल्डफेशन ओट्स लेखिएको डब्बामा १ र क्वीक वट्स लेखिएको अर्को डब्बाभित्र १ प्याकेट गाँजासहित पक्राउ गरिएको हो ।

गाँजासहित नियन्त्रणमा लिइएकाहरुविरुद्ध लागुऔषध मुद्दामा बारा जिल्ला अदालतबाट हिजो ५ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको छ ।


सम्बन्धित समाचार